• २० फागुन २०८२, बुधबार

हेर्दै अनौठो, पक्की पुलमाथि झोलुङ्गे पुल

blog

उदयपुरको शिवाहीमा भाँचिएको पक्की पुलमाथि निर्माण गरिएको झोलुङ्गे पुल । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, फागुन २० गते  । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ को शिवाही र बेल्हा जोड्ने त्रियुगा नदीमा निर्माण सम्पन्न हुनै लाग्दा भाँचिएको पक्की पुलमाथि पुनः अर्काे झोलुङ्गे पुल निर्माण गरिएको छ । त्रियुगा नदी वारपार गर्ने क्रममा पानीमा चोबलिएर सास्ती खेप्दै आएका स्थानीय बासिन्दाले झोलुङ्गे पुलबाट आंशिक रूपमा राहत पाएको महसुस गरेका छन् ।

पुलमाथि पुलका रूपमा देखिएको यो संरचना हेर्दा अनौठो जस्तो भए पनि सर्वसाधारणका लागि भने अत्यन्तै उपयोगी साबित भएको स्थानीय पर्शुराम बस्नेतले बताउनुभयो । करिब डेढ दशकअघि महालक्ष्मी–लोकप्रिय जेभी निर्माण कम्पनी कलङ्कीले नौ करोड ७६ लाख रुपियाँकोे लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी पुल निर्माण सुरु गरेको थियो । पुल निर्माण समयमै सम्पन्न हुन नसक्दा लागत मूल्य बढेर ११ करोड २७ लाख रुपियाँ खर्च भइसकेको अवस्थामा २०७८ असारमा आएको बाढीले पुलको दक्षिणी भागमा दुई वटा पिल्लर भासिएपछि तीन वटा स्ल्याब भाँचिँदा करिब ८० मिटर पुलको भाग पूर्ण रूपमा प्रयोगविहीन हुँदा स्थानीय निराश हुँदै आएका थिए । 

यसरी निर्माण सम्पन्न हुनै लागेकोे पुल सञ्चालनमा नआउँदै क्षतिग्रस्त बनेपछि स्थानीयवासीले बर्सौंसम्म सास्ती खेप्नु परेको थियो । पुल अलपत्र अवस्थामा रहँदा चौदण्डीगढी नगरपालिका–५, ९ र १० का झन्डै २० हजार स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको अवस्थामा पुनः यस्तो संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले बताउनुभयो ।

स्थानीयका अनुसार पुल नहुँदा शिवाही, सुन्दरपुर र हडिया क्षेत्रका नागरिकलाई बेल्टार बजार तथा पालिका केन्द्रसम्म पुग्न निकै कठिन हुने गरेको छ । विशेष गरी वर्षायाममा नदी पार गर्न जोखिम मोलेर डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता थियो वा मधेश प्रदेशको सप्तरी फत्तेपुर हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

लामो समयसम्म स्थायी समाधान नभएपछि कोशी प्रदेश सरकारले तत्कालका लागि वैकल्पिक उपाय अपनाएर करिब ६० लाख रुपियाँको खर्चमा उक्त पुलको क्षतिग्रस्त भएको करिब ८० मिटर भागमा झोलुङ्गे पुल निर्माण गरेको हो । यो पुलबाट मोटरसाइकल, अटो र पैदलयात्रीलाई सुरक्षित आवतजावत गर्न सहज भएको छ ।

२८० मिटर लम्बाइ र साढे पाँच मिटर चौडाइ रहेको मूल पक्की पुलमा १२ पिल्लर र ११ वटा स्ल्याब रहेका थिए । तीमध्ये क्षति पुगेको भागलाई लक्षित गर्दै झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

स्थानीय चौदण्डीगढी–५ का रामकुमार चौधरीका अनुसार पुल नहुँदा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । उहाँले भन्नुभयो, “नदी वारपार गर्न निकै जोखिम लिनु पथ्र्यो । अहिले झोलुङ्गे पुल बनेपछि कम्तीमा सहज रूपमा आवतजावत गर्न पाइएको र पालिकाको केन्द्रसँग जनताको सिधा सम्पर्क हुन निकै नि सहजता भएको महसुस गरिएको छ ।