प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २० गते । सल्यान जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि सम्पूर्ण तयारी पूरा भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान केन्द्र निर्माण, मतदान कक्ष व्यवस्थापन तथा आवश्यक पूर्वतयारी सम्पन्न गरेका छन्।
कुमाख गाउँपालिका–६ वडागाउँका मतदान अधिकृत दिनेश पौडेलले मतदान केन्द्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको र शान्तिपूर्ण मतदानका लागि सबै व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ४३ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखी विशेष सुरक्षा निगरानी बढाइएको प्रशासनले जनाएको छ।
१ सय १७ मतदान स्थल र २०५ मतदान केन्द्रका लागि आवश्यक सबै निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण गरिसकिएको छ। मतदान केन्द्रमा खटिने १ हजार २ सय ३० कर्मचारी आ–आफ्नो कार्यक्षेत्रमा पुगिसकेका छन्। मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले मतदाताले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण तयार गरिएको जानकारी दिनुभयो।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा कडा निगरानी राखिएको र अवाञ्छित गतिविधि नियन्त्रणका लागि विशेष निगरानी संयन्त्र सक्रिय बनाइएको बताउनुभयो।
विशेष गरी दुर्गम तथा पहाडी भेगमा सुरक्षा चुनौती हुन सक्ने आंकलन गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायले तयारीलाई चुस्त बनाएका छन्। निर्वाचनका लागि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका टोली १३ स्थानमा खटिएका छन्।
जिल्लामा १ हजार ४०६ जना निर्वाचन प्रहरीसहित करिब एक हजारको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले पैदल, मोटरसाइकल तथा अन्य सवारी साधनमार्फत जिल्लाभर गस्ती गरिरहेका छन्। प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा निर्वाचन सुरक्षा संयोजन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान गराउने लक्ष्यसहित सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको बताउनुभयो।
सल्यानमा कुल १४ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये १२ जना राजनीतिक दलका र २ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। जिल्लामा १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन्।
स्थानीय मतदाताले सुरक्षा व्यवस्था सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा सल्यानमा तयारी तीव्र र व्यवस्थित रूपमा सम्पन्न भएको प्रशासनको दाबी छ। शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउने लक्ष्यसहित सम्पूर्ण संयन्त्र सक्रिय रहेको जनाइएको छ।