• १७ चैत २०८२, मङ्गलबार

पाल्पाका सात मतदान केन्द्रमा महिला नेतृत्व

blog

तानसेन (पाल्पा), फागुन २० गते । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका सात मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएको छ । ती केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी सबै महिला छन् । 

यहाँको तानसेन–४ स्थित त्रिभुवन बहुमुखी क्याम्पस ‘ख’ केन्द्र, वडा नं ३ स्थित बालमन्दिर आधारभूत विद्यालय ‘क’ केन्द्र, अस्थायी मतदान केन्द्र कारागार कार्यालय, अस्थायी मतदान केन्द्र टुँडिखेल, रामपुर–७ स्थित आधारभुत मावि डुम्रीगाउँ ‘ख’, रम्भा गाउँपालिका–१, हुँगीस्थित जनकल्याण मावि हुँगी ‘ख’, तानसेन–८ मदनपोखरास्थित शारदा मावि ‘ग’, केन्द्रमा महिलाको नेतृत्वमा कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पङ्गेनीले जानकारी दिनुभयो ।

बालमन्दिर ‘क’ मतदान केन्द्रकी मतदान अधिकृत रमा श्रेष्ठले महिला कर्मचारी मात्र खटिएको मतदान केन्द्रमा काम गर्न पाउँदा गर्व र उत्साह महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नेछौँ ।” जिल्लामा ११८ मतदान केन्द्रमा २५१ मतदान केन्द्र छन् । रासस