अभिनेतृ मनीषा कोइराला बेलायती संसद् भवन ‘हाउस अफ कमन्स’ मा आयोजित समारोहमा सम्मानित हुनुभएको छ । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान गरिएको हो । बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गर्नुभएको हो । चलचित्र कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनीषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ । सांसद हुसेनले अभिनेतृ कोइरालाले तीन दशकभन्दा बढी समय कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
वेब सिरिज ‘कैँची’ को निर्माण घोषणा गरिएको छ । टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । मधेशको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरसिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दीपक आरजेलाई स्थान दिइएको छ । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को निर्माण टिमले गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको बैठकमा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नुभएको छ । बैठक सोमबारदेखि सुरु हुने छ । बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रको नेतृत्व गर्न उम्मेदवारी दिनुभएका नेपालका डा. शम्भुप्रसाद आचार्य र बङ्गलादेशकी डा. साइमा बाजेदमध्ये एक जनालाई छनोट गर्ने छ । बैठकमा मुटुरोगको रोकथाम र नियन्त्रण, उपेक्षा गरिएका किटजन्य रोगको अन्त्य तथा क्षेत्रीय स्वास्थ्य सुरक्षाका विषयमा छलफल हुने छ । बैठक चार दिनसम्म सञ्चालन हुने छ ।
सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा स्थानीय तह क्रमिक रूपमा सबल बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई सरकारकै रूपमा स्थापित गराएपछि स्थानीय तह सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सबल बन्दै गएको हो । अहिलेसम्म ७५३ वटै स्थानीय तहले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लागु गरेका छन् । ती स्थानीय तहले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पद्धति (लिजा) तयार गरेका, ६४१ ले वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गरेको, ५७९ ले मध्यकालीन खर्च संरचना तयार गरेका, ३७५ ले राजस्व सुधारको योजना तयार गरेको र ६९ स्थानीय तहले आन्तरिक नियन्त्रण प्रणाली लागु गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
तिहारलाई लक्षित गरेर आगामी मङ्गलबारदेखि ललितपुरको जावलाखेल मैदानमा १६ आैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा पुुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ मेला हुन लागेको हो । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत गरिने भएको छ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीका कट फ्लावर रहेका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो । साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो । यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।
पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । काठमाडौँबाहिर निर्माण भएको यो पहिलो विद्युतीय शवदाह गृह हो । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा निर्माण गरेको शवदाह गृहको गत भदौ दोस्रो सातामा निर्माण सकिएको थियो । शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको थियो । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आज सिंहदरवारमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।
दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमणमा परी ज्यान गुमाएका थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।
अन्तर्राष्ट्रिय तथा पर्यटन सम्बन्ध समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले संयुक्त राष्ट्रसङ्घको महासचिव एन्टोनियो गुटेरेस नेपालको सदनलाई सम्बोधन गर्नु गौरवको विषय भएको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले बाँकेमा लामो समयदेखि महसुल नतिर्ने २० हजार बढी ग्राहकको लाइन आइतबारबाट काट्न थालेको जनाएको छ ।
ताप्लेजुङमा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् ।
धनुषाको नगराइन नगरपालिका–६ लगमाका दुईसय जना किसानलाई कृषि कर्ममा प्रयोग गरिने औजार खुर्पी, हँसिया र कोदालो एक–एक थान वितरण गरिएको छ ।
मकवानपुर भीमफेदी गाउँपालिका –३ बेसारघारी घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्युभएको छ । स्थानीय ७० वर्षीय गणेशबहादुर स्याङतानको आइतबार दिउँसो भीरबाट लडेर मृत्युभएको हो ।