• २९ मङ्सिर २०८२, सोमबार

ओखलढुङ्गाबाट रामहरिसहित २० जनाको नाम सिफारिस

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडासहितका नेताहरू ।

शेरबहादुर राई 

ओखलढुङ्गा, मङ्सिर २८ गते । नेपाली कांग्रेस ओखलढुङ्गाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । 

जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका विभिन्न समूहका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । 

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा सहित छ जनाको नाम सिफारिस गरिएको छ । 

प्रत्यक्ष उम्मेदवारका रूपमा खतिवडासँगै बालकृष्ण दाहाल, खिलानाथ दाहाल, गोमा केसी, कुमार लुईँटेल र रुद्र अधिकारी सिफारिस हुनुभएको छ । 

नेपाली कांग्रेस ओखलढुङ्गाका सह–सचिव भोजकुमार श्रेष्ठका अनुसार जिल्ला बैठकले सर्वसम्मत रूपमा नाम सिफारिस गरेको हो । 

यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ तीनजना महिला नेत्रीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ बाला अधिकारी, सबिता राई र सङ्गिता तामाङको नाम केन्द्रमा पठाइने भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि पुरुषतर्फ जयबहादुर श्रेष्ठ, सिताराम श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ र टिकाराम कार्की सिफारिस भएका छन् भने महिलातर्फ हेमालक्ष्मी राई, मैया राई र निर्मलादेवी रैकाको नाम सिफारिस गरिएको छ । 

त्यसैगरी, राष्ट्रियसभाको दलिततर्फ मिनबहादुर विश्वकर्मा, युवराज गजमेर, सुन्तला अधिकारी परियार र चन्द्रबहादुर नेपाली सिफारिस हुनुभएको छ । 

जिल्ला कार्यसमितिले उम्मेदवारका रूपमा आकांक्षा व्यक्त गरेका सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको जनाएको छ । बैठकले क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरी यही मंसिर मसान्तभित्र केन्द्रीय समितिमा सिफारिस गर्ने तथा नयाँ क्रियाशील सदस्यता वितरणको काम पूरा गरी आगामी पुस ७ गतेभित्र विवरण केन्द्रमा पठाउने निर्णयसमेत गरेको छ । 

नाम सिफारिस भएपछि केन्द्रीय सदस्य खतिवडाले चुनाव लक्षित गतिविधि थाल्नु भएको छ । जिल्लाको विभिन्न पालिका र वडामा पुगेर नेता कार्यकर्ताहरुसँग भेटघाट थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।