• ९ पुस २०८१, मङ्गलबार

महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु

blog

विद्युत महसुल नतिर्नेको लाइन काट्दै वितरण केन्द्रका कर्मचारी । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १२ गते । नेपाल विद्युत प्राधिकरणले बाँकेमा लामो समयदेखि महसुल नतिर्ने २० हजार बढी ग्राहकको लाइन आइतबारबाट काट्न थालेको जनाएको छ । 

प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले सो जानकारी दिएको छ । नेपालगन्ज वितरण केन्द्रले यसअघि सार्वजनिक सूचना नै जारी गरेर ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी बक्यौता रहेका ग्राहकलाई महसुल बुझाउन आग्रह गर्दै कात्तिक १२ गतेदेखि विद्युत् लाइन काट्ने जानकारी गराएको थियो ।

विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जिल्लामा लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको सङ्ख्या २० हजार २३० रहेकाले लाइन काट्ने अभियान सुरु गरिएको जनाउनुभयो । 

उहाँले आइतबार मात्रै १५० भन्दा बढी ग्राहकको लाइन काटेको जनाउँदै यो अभियान सात दिनसम्म जारी रहने बताउनुभयो । लाइन काट्न थालेपछि आइतबार बक्यौता रकम बुझाउन धेरै सङ्ख्यामा ग्राहकहरू वितरण केन्द्र पुगेको प्रमुख लामिछानेले बताउनुभयो । 

उहाँले बाँकेमा २० हजार २३० ग्राहकबाट ३७ करोड ९४ लाख ८७ हजार ६११ रुपियाँ असुल गर्न बाँकी रहेको जनाउँदै २४ करोड रुपियाँ सडक बत्ती र १३ करोड बढी अन्य उपभोक्ताको बाँकी रहेको बताउनुभयो । 

प्राधिकरणले यसअघि नै एउटा सार्वजनिक सूचना जारीगरी बाँकेका ८ स्थानीय तहलाई पनि सडक विद्युत बापतको बाँकी विद्युत् महसुल तिर्न ताकेता गरेको थियो । 

स्थानीय तहलाई ४५ दिनभित्र महसुल नतिरे कारबाही गर्ने चेतावनी दिए पनि अझै सडकबत्तिको रकम नबुझाइएको वितरण केन्द्रले जनाएको छ । बाँकेका स्थानीय तहले सडकबत्तीका लागि विद्युत् उपभोग गरेबापत गत असार मसान्तसम्मको २४ करोड रुपियाँ नतिरेको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । 

वितरण केन्द्रका अनुसार बाँकेका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बक्यौता नेपालगन्ज उपमहानगरपालिकाको २० करोड रुपियाँ रहेको छ । बाँकी सातवटा पालिकाले सडकबत्ति बापतको ४ करोड रुपियाँ तिर्न बाँकी रहेको छ ।