• १२ साउन २०८१, शनिबार

आम्दानीको राम्रो स्रोत बन्दै किवी खेती

blog

दोखुका राजकुमार गुरुङले लगाएको किवी बगैँचा (खेती) मा फलेको किवी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १२ गते । ताप्लेजुङमा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । 

खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउनेगरेका छन् । फुङ्लिङ नगरपालिका –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाउनुभयो । 

आजभन्दा छ वर्षअघि व्यावसायिक किवी खेती सुरु गर्नुभएका गुरुङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदैआएको बताउनुभयो । उहाँले गतवर्ष किवीबाट दुई लाख ५० हजार रुपियाँ आम्दानी गरेको र यसवर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ ।

उहाँजस्तै जिल्लामा धेरै किसानले किवीको व्यावसायिक खेती गर्दैआएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका लगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् । 

एक पटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा गाउँपालिका –५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताउनुभयो । सुरुमा जिल्लामा किवी खेती बिस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताउनुभयो । 

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उहाँको भनाइ छ । बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका उहाँले बताउनुभयो ।

किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम २५० रुपियाँसम्म रहेको छ । हाल किवीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरुङले जानकारी दिनुभयो ।