• १२ साउन २०८१, शनिबार

दुईसय कृषकलाई कृषि औजार सामग्री वितरण

blog

धर्बेन्द्र झा

धनुषा, कात्तिक १२ गते । धनुषाको नगराइन नगरपालिका–६ लगमाका दुईसय जना किसानलाई कृषि कर्ममा प्रयोग गरिने औजार खुर्पी, हँसिया र कोदालो एक–एक थान वितरण गरिएको छ । 

अमेरिकामा कार्यरतरहेका नेपालीको सामाजिक संस्था सपनाले आइतबार लगमामा आयोजना गरेको एक कार्यक्रमबिच मधेश प्रदेशका पुर्वमन्त्री एवम् प्रदेश सभा सदस्य रामसरोज यादवले किसानलाई कृषि औजार खुर्पी, हँसिया र कोदालो हस्तान्तरण गर्नुभयो । 

संस्थाका कार्यकारी सदस्य रहनुभएका डा. राकेश मण्डलले पठाएको रकमबाट खरिद गरिएको कृषि औजार कृषि कर्मलाई प्राथमिकतामा राखेका किसानलाई सो सामग्री वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले विदेशमा रहेका नेपालीले आफ्नो जन्मस्थलमा यस प्रकारको काम गर्नु भनेको खेती गरेर उत्पादन बढाउनका लागि सन्देश दिएको भन्दै परम्परागत खेती छाडेर वैज्ञानिक प्रणालीबाट खेती गर्नका लागि किसानलाई आग्रह गर्नुभयो । 

पूर्वमन्त्री यादवले कोसी कमला डाइभर्सनको काम अघि बढेपछि तराई मधेशको धेरैजसो भूभागमा सिँचाइको व्यवस्था हुनेभएकाले कामलाई तीव्रता दिनका लागि सरकारसँग माग गर्नुभयो । 

चुरियाको संरक्षण नभएमा ४० वर्षपछि तराई–मधेश मरुभूमिकरण हुनेभएकाले चुरिया संरक्षणका लागि ठोस कदम चाल्नुको साथसाथै वृक्षारोपण आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा नगराइन नगरपालिकाका नगर प्रमुख विनय यादवले सामूहिक खेती गर्नका लागि किसानलाई प्रेरित गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार भएको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।