• २२ वैशाख २०८१, शनिबार

पोखरामा विद्युतीय शवदाह गृह

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १३ गते । पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । काठमाडौँबाहिर निर्माण भएको यो पहिलो विद्युतीय शवदाह गृह हो । 

सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा निर्माण गरेको शवदाह गृहको गत भदौ दोस्रो सातामा निर्माण सकिएको थियो । शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको थियो । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ । 

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर सुरज पौडेलले शव दहनमा खटिने जनशक्तिलाई तालिम दिनुपर्ने बताउँदै छिटै हस्तान्तरण गरिने जानकारी दिनुभयो । “शवदाह गृह बनेको जग्गा महानगरको हो । निर्माण सकिएको छ । परीक्षण सकिनेबित्तिकै हस्तान्तरण गर्छौं ,” उहाँले भन्नुभयो।

अहिले रामघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइलाघाट जस्ता सेती किनारका घाटमा शव दहन गर्ने गरिएको छ । शान्तिघाटमा बिजुली र दाउरा दुवै प्रयोग हुने शवदाह गृह पोखरा महानगरपालिकाले बनाएको थियो । निजी बैङ्कसँगको सहकार्यमा निर्मित त्यो शवदाह गृहमा दाहसंस्कार गर्दा परम्परागत तरिकाभन्दा थोरै दाउरा प्रयोग हुन्थ्यो । अहिले त्यो शवदाह गृहसमेत बन्द छ । 

महानगर प्रमुख धनराज आचार्यले युगको आवश्यकता अनुरूप विद्युतीय शवदाह गृह बनेको बताउँदै महानगरलाई हस्तान्तरण भइसकेपछि जनशक्ति व्यवस्थापनसहित उचित तवरले यसको सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामघाटमा शव दहनलाई व्यवस्थित गर्ने उद्देश्यले १४ करोड १३ लाख ५० हजार रुपियाँको लागतमा आधुनिक शवदाह गृह निर्माण भएको हो । भवनभित्र शव दहन गर्ने तीन मेसिन राख्ने स्थान भए पनि अहिले दुई वटा मेसिन राखिएका छन् । शवदाह गृह १० रोपनीमा फैलिएको छ । 

शवदाह गृहभित्र अन्तिम श्रद्धाञ्जली दिने स्थानसमेत छ । शवदाह गृह परिसरभित्रै हिन्दु धर्मावलम्बीका लागि मन्दिर र बौद्ध धर्मावलम्बीका लागि गुम्बा निर्माण गरिएको छ । निर्माण कम्पनी सिनर्जी विल्डर्स प्रालिका प्रोजेक्ट म्यानेजर इन्द्र खनालले कम्तीमा ४५ मिनेटदेखि बढीमा एक घन्टाभित्र एउटा मेसिनले एउटा शव दहन गर्ने जानकारी दिनुभयो । 

शव दहनबाट उत्पादन हुने ताप र धुवाँलाई प्रशोधन गरी ३० मिटर अग्लो चिम्नीमार्फत बाहिर पठाउने व्यवस्था छ । शव दहन गर्दा शवदाह गृह र आसपासमा समेत गन्ध नआउने र धुवाँसमेत नदेखिने निर्माण कम्पनीको दाबी छ । 

पहिला आउने १० वटा शवमा लाग्ने खर्च हिसाब गरी दहनको शुल्कबारे सुझाव दिने निर्माण कम्पनीको तयारी छ । शवदाह गृह सञ्चालनका लागि एक सिफ्टमा चार जना जनशक्ति आवश्यक पर्छ । शव दहन गर्ने मेसिन भारतमा निर्माण गरिएको हो । उचित तवरले सञ्चालन गरे सात÷आठ वर्ष यी मेसिनले राम्ररी काम गर्ने बताइएको छ । 

२०७३ सालमा शवदाह गृह निर्माणका लागि ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कोभिड महामारीलगायतका कारणले काम अघि बढ्न सकेको थिएन । सर्वाेच्च अदालतले निर्माण नरोक्न आदेश दिएपछि २०७८ साल असोजबाट काम सुरु भएको थियो । दुई वर्षमा काम सक्नुपर्ने सम्झौता भए पनि कानुनी झमेला र स्थानीयको अवरोधले सात वर्षमा निर्माण सकिएको हो । परम्परागत रूपमा एक जनाको दाहसंस्कार गर्दा तीन सय केजीभन्दा बढी दाउरा लाग्छ ।