काठमाडौँ, कात्तिक १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको बैठकमा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नुभएको छ । बैठक सोमबारदेखि सुरु हुने छ ।
बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रको नेतृत्व गर्न उम्मेदवारी दिनुभएका नेपालका डा. शम्भुप्रसाद आचार्य र बङ्गलादेशकी डा. साइमा बाजेदमध्ये एक जनालाई छनोट गर्ने छ । बैठकमा मुटुरोगको रोकथाम र नियन्त्रण, उपेक्षा गरिएका किटजन्य रोगको अन्त्य तथा क्षेत्रीय स्वास्थ्य सुरक्षाका विषयमा छलफल हुने छ । बैठक चार दिनसम्म सञ्चालन हुने छ ।
विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी राष्ट्रमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार गरी ११ सदस्य राष्ट्र छन् । म्यानमारलाई मतदान गर्ने अधिकार दिइएको छैन । यस पटक १० देशले मात्र मतदान गर्न पाउने छन् । यसअघि नेपालले भारतलाई समर्थन गरेको र भारतले अर्को पटक नेपाललाई समर्थन गर्ने मौखिक सहमति गरेकाले क्षेत्रीय निर्देशक नेपालबाट हुने सम्भावना रहेको बताइएको छ ।
नेपालका तर्फबाट उम्मेदवारी दिनुभएका डा. आचार्यले आफूले विगतमा गरेका काम स्वास्थ्य क्षेत्रका लागि उदाहरणीय भएकाले आफूले जित्ने दाबी गर्नुभयो । उहाँले आफू जनस्वास्थ्यविज्ञ भएको, ग्रामीण क्षेत्रमा गई काम गरेको, स्वास्थ्य र जनसङ्ख्यालाई राम्रोसँग बुझेकाले पनि जित सुनिश्चित भएको बताउनुभयो । उहाँले नेपालबाट स्वास्थ्यमन्त्रीको टोलीले समेत आफ्नो पक्षमा मतदान गर्न सबै राष्ट्रलाई आग्रह गरेकाले सबै राष्ट्रले मतदान गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
सङ्गठनको बैठकले छनोट गरेको नामलाई आगामी जनवरी २२ देखि २७ तारिखमा स्विट्जरल्यान्डको जेनेभामा हुने सङ्गठनको बोर्ड बैठकमा पेस गरिने छ । नवनियुक्त क्षेत्रीय निर्देशकले आगामी २०२४ फेब्रुअरी १ तारिखदेखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नुहुने छ ।