• १४ मंसिर २०८१, शुक्रबार

तिहारलाई लक्षित गरी गोदावरी फूूलको प्रदर्शनी

blog

काठमाडौँ, कात्तिक १३ गते  । तिहारलाई लक्षित गरेर आगामी मङ्गलबारदेखि ललितपुरको जावलाखेल मैदानमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा पुुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ मेला हुन लागेको हो । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत गरिने भएको छ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीका कट फ्लावर रहेका छन् । 

पाँच दिनसम्म चल्ने मेला प्रदर्शनीमा एक करोड रुपियाँ बराबरको कारोबार गर्ने र ४० हजार जनाले अवलोकन गर्ने लक्ष्य रहेको फ्यानले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले तिहार नजिकिँदै गरेकाले तिहारलाई लक्षित गरेर प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिनुभयो । प्रदर्शनीले ुष्प व्यवसायको प्रवर्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । 

प्रदर्शनी अवलोकन गर्न आउने दर्शक,‌ अवलोकनकर्ता तथा व्यवसायीको शून्य मौज्दातमा बैङ्क खाता खोल्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । ग्राहकको खातामा कृषि विकास बैङ्कले तीन रुपियाँ जम्मा गरिदिने फ्यानले जनाएको छ । बैङ्कमा खाता खोल्ने ग्राहकले मेलामा फूलको खरिदमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था पनि गरिएको छ । 

मेलामा ५५ वटा व्यावसायिक, दुई वटा प्रयोगात्मक, दुई वटा सूचनामूलकलगायत गरी ६२ वटा कक्ष रहने छन् । मेलामा सिजनमा फुल्ने मखमली, सयपत्री तथा अन्य सिजन फूलका बिरुवाको समेत प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । विभिन्न ४८ जिल्लामा २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको एसोसिएसनले जानकारी दिएको छ । प्रदर्शनी कात्तिक १८ सम्म सञ्चालन हुने छ ।