चिसोबाट यहाँ एकमहिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ ।
नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घीय सांसद बन्नुभएका उहाँले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताउनुभयो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे यो पटक निर्वाचन क्षेत्रमा आउँदा मुख्य कार्यक्रम नै आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण रहेको पाइएको छ । उहाँको तीन दिने गृह जिल्ला झापा भ्रमणमा दुई दिन लौरो वितरण कार्यक्रममा सहभागी बन्नु भयो ।
चार वर्षअघि शिलान्यास गरिएका बैतडी जिल्लाका सात वटा स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । सञ्चालनमा रहेका कतिपयमा त मौजुदा सिटामोललगायतका अत्यावश्यक औषधी र स्वास्थ्यकर्मीसमेत छैनन् । पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । यस स्वास्थ्य केन्द्रमा करारमा कार्यरत मेडिकल अधिकृत डा. अस्मिता नेगी अध्यययन गर्ने नाममा राजीनामा दिएर हिँड्नुभएको छ ।
पहिलो पटक छोरा जन्माउने परिवारले तिहारका बेला भैलो खेल्न आउनेलाई खसी दिने परम्परा अनुसार यो वर्ष यस जिल्लाको असुरगाउँमा १४ वटा खसी काटेर प्रसादका रूपमा बाँडिएको छ । मेलौली नगरपालिका–९, असुरगाउँमा द्वितीया मेलाका दिन बाजागाजासहित छोरा जन्मेको घरमा भैलौ खेल्दै खसी मागेर छालाको भकुन्डो खेल्ने चलन छ । पहिलो पटक छोरा जन्माउनेले द्वितीयाका दिन प्रसादका रूपमा अनिवार्य खसी दिने परम्परा छ । स्थानीय भट्ट, लोहार र दमाई जातिको बसोबास रहेको असुर गाउँमा पहिलो छोरा जन्माउने परिवारले तिहारको भैलोमा खसी दिने परम्परा रहेको स्थानीय मुखिया वीरभद्र भट्टले बताउनुभयो ।
साविक विजेता इटली युरोकप २०२४ मा छनोट भएको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै युरो कपमा स्थान बनाएको हो ।
बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई कात्तिक १७ गते ६.८ रेक्टर स्केलको भूकम्प गएपछि बारेकोट गम्भीर सङ्कटमा छ । अस्थायी बसोबास निर्माण, खाद्यान्न, न्यानो कपडा, विद्युत्, पानीको व्यवस्थापन र पुनर्निर्माणको काममा पालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । भूकम्पले १५७ जनाको मृत्यु र ३४ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । भूकम्पले बारेकोटमा गम्भीर क्षति पु¥याए पनि विकास निर्माणको नयाँ सम्भावनासमेत लिएर आएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भन्नुभयो, “पालिकाको सम्पूर्ण शक्ति खोज, उद्धार, राहत वितरणपछि पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ ।”
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ दार्म गाउँको देउली बजारमा विगत पच्चीस वर्षदेखि खानेपानीको समस्या उस्तै रहेको पाइएको छ । खानेपानीको श्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएको कारण खानेपानीको समस्या उक्त बजारका स्थानीयले भोग्दै आउनु भएको हो ।
कालीगण्डकी नदी गहिरिँदै गएपछि स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्काको पक्की पुल जोखिममा परेको छ । सो पुल २०५२ सालमा निर्माण गरिएको हो । पुलको पिल्लरको तल्लो भाग देखिन थालेपछि यात्रु र सवारीचालक जोखिम महसुस गर्न थालेका छन् । कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल जोखिमपूर्ण बनेको एक दशक भइसकेको छ तथापि सो पुलको मर्मततर्फ कसैको ध्यान जान सकेको छैन ।
पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने मेला मङ्सिर ७ गतेदेखि लाग्ने भएको छ । मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने छ । तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्दै आएको छ । परापूर्वकालमा सत्यवती बज्यै घनाजङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ ।
नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका–१, मचेडीका लालबहादुर खड्काले रोटेपिङ खेल्न नपाएको १० वर्ष भएको थियो । यो वर्षको दसैँतिहारमा भने उहाँको इच्छा पूरा भएको छ । “विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पनि पिङ देख्न त परै जाओस्, खेल्न पनि पाइएको छैन,” उहाँले भन्नुभयो, “अहिलेका दिनमा युवा पुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले चर्खेपिङको महत्व घट्दै गएको देखिन्छ ।”
हिउँचितुवालाई हिमालकी रानीका रूपमा पनि चर्चा गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवाले वातावरण सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । प्रत्येक वर्ष हिउँचितुवाको सङ्ख्या घट्दै गएकाले यसको संरक्षण गर्न अत्यावश्यक भएको एक कार्यक्रमका सहभागी वक्तालेऔँल्याएका छन् ।
मधेशका जिल्लामा छठ पर्वको समापन भएको छ । यसको रौनक भने अझै सकिएको छैन । सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि एकअर्काको घरमा प्रसाद पठाउने र भोजन ग्रहणपछि व्रतालु छठको थकान मेट्न लागेका छन् । अर्कोतिर धान काट्ने चटारो पनि छ । यो बेला बालबालिकाको पनि आफ्नै संसार र व्यस्तता छ । दसैँतिहार लागेदेखि मधेशका विद्यालयमा छुट्टी छ । यही मौका पारेर बालबालिकाको जमात अहिले धानको सिला खोज्न व्यस्त देखिन्छ ।
बर्दीबासको सुदूर उत्तरी क्षेत्रमा पर्ने भब्सी खोलाको कुलो मर्मत नहुँदा राइमण्डल गाउँमा खाद्यान्नको समस्या बढेको छ । चुरेको फेदीमा रहेको यो पुरानो बस्तीमा जनजातिका ५४ परिवारको बसोबास छ । त्यहाँ करिब ५० बिघा खेतीयोग्य जमिन छन् । गाउँलेका अनुसार कुलोमा पानी बग्दा ती जग्गामा धान, गहुँ, मकै गरी वर्षको तीन बाली उत्पादन हुन्थे । प्रतिकट्ठा अन्न बाली तीन मन फल्ने गरेको गाउँलेले बताउनुभयो । दलहन र तरकारी पनि उत्तिकै फल्थे । प्रचुर उत्पादन र सदाबहार हरियालीले गाउँमा खुसी छाउँथ्यो ।