• १२ मंसिर २०८१, बुधबार

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क

blog

सेती प्रादेशिक अस्पताल । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, मङ्सिर ५ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ । सिकलसेल एनिमिया निदानको लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) सेवा अस्पतालले निःशुल्क गरेको हो । आजदेखि सर्वसाधारणले यो सेवा उपभोग गर्न पाउने अस्पतालले सूचना जारी गरेर जनाएको छ । 

थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाका बिरामीले परीक्षण र उपचार सेती प्रादेशिक अस्पतालमा गराउँदै आएका छन् । अस्पतालले सिकलसेल जाँच गरेबापत यस अघिसम्म केही शुल्क लिँदै आएको थियो । 

अब जाँच सेवा निःशुल्क भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) ले जानकारी दिनुभयो । यो सेवा सामाजिक सेवा एकाइ (कोठा नम्बर २४) बाट उपलब्ध हुने अस्पतालले जनाएको छ ।