नवराज नेपाली
बागलुङ (गलकोट) जेठ ३ गते । समयमै पहिचान हुन नसक्दा प्रजननसम्बन्धी स्वास्थ्य समस्या जटिल बन्ने गरेको बताइएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी मिडियाकर्मी र सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रविण शर्माले प्रजननसम्बन्धी समस्या लुकाउने तथा बेवास्ता गर्ने प्रवृत्तिका कारण समस्या थप जटिल बन्ने गरेको बताउनुभयो ।
उहाँले बागलुङका निसीखोला, तमानखोला र ढोरपाटन क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतनाको कमीका कारण प्रजनन स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्नुभएको हो ।
कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक समिता घिमिरेले आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा अब्स्टेट्रिक फिस्टुला सम्बन्धी रोग, लक्षण, पहिचान र उपचारका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रजननसम्बन्धी रोग समयमै पहिचान गर्न सके उपचार सहज हुने भन्दै परिवारका महिलाको प्रजनन स्वास्थ्यप्रति पुरुषहरूले पनि चासो दिनुपर्ने बताइएको थियो ।
धौलागिरि प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। विजय ओझाले प्रजननसम्बन्धी धेरै रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क हुने भए पनि सेवाको उपयोग गर्नेको सङ्ख्या न्यून रहेको बताउनुभयो ।
उहाँले नियमित स्वास्थ्य परीक्षणको आवश्यकता औँल्याउँदै समस्या देखिएपछि मात्र अस्पताल जानू पर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । “समस्या नहुँदै गरिने नियमित परीक्षणले रोग लागिहाले पनि समयमै उपचार गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो ।
डा.ओझाले अस्पतालबाट प्रदान भइरहेका प्रजनन स्वास्थ्यसम्बन्धी सेवाबारे पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यम, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
पत्रकार, स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कार्यालयका क्षय, कुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले गर्नुभएको थियो ।