नवलपरासी समाचारदाता
बौदीकाली (नवलपरासी), मङ्सिर ५ गते । नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका–१, मचेडीका लालबहादुर खड्काले रोटेपिङ खेल्न नपाएको १० वर्ष भएको थियो । यो वर्षको दसैँतिहारमा भने उहाँको इच्छा पूरा भएको छ ।
“विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पनि पिङ देख्न त परै जाओस्, खेल्न पनि पाइएको छैन,” उहाँले भन्नुभयो, “अहिलेका दिनमा युवा पुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले चर्खेपिङको महत्व घट्दै गएको देखिन्छ ।”
नयाँ पुस्ता दसैँतिहारमा पिङ खेल्नेभन्दा साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने भएकाले चर्खेपिङको महत्व हराउँदै गएको स्थानीय राजु कँडेलले बताउनुभयो । “जिल्लामा विगत १० वर्षदेखि यता कहीँ पनि रोटेपिङ देखिएन, यस्ता लोप हुन लागेका रोटेपिङ, लिङ्गेपिङको संरक्षणका लागि बजेट नै विनियोजन गरेर संरक्षणमा जुटेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । एक दशकअघिसम्म दसैँतिहार लागेसँगै चोक चोक र टोल टोलमा देखिने यस्ता रोटेपिङ १० वर्षपछि आफूले देख्न पाएको बौदीकाली–१, मिथुकरमका टोलनाथ कँडेलले बताउनुभयो ।
दसैँतिहार आयो भन्नेबित्तिकै रोटेपिङ खेल्ने चाहना हुने गथ्र्यो तर अहिले चाहेर पनि यस्तो पिङ खेल्न नपाएको स्थानीय चोलाकान्त कँडेलले बताउनुुभयो । दसैँ आगमनको सुरुवातसँगै खेलिने रोटेपिङ यस वर्ष जिल्लाको बौदीकाली गाउँपालिकामा मात्र देख्न पाइएको बुलिङटारका प्रेमबहादुर थापामगरले बताउनुभयो। दसैँतिहार जस्ता ठुला चाडमा रोटेपिङले दिने रौनक बचाउन यस पटक गाउँपालिकाले संस्कृति संरक्षणका लागि बजेट विनियोजन गरेर रोटेपिङ बनाउन आर्थिक सहयोग गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष ओझाले बताउनुभयो । हिन्दु धर्मग्रन्थमा दसैँतिहारको समयमा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको संरक्षणमा लागिपरेको गाउँपालिकाले जनाएको छ । बस्ती पातलिँदै जानु र अर्कोतर्फ इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो ।