बुलबुले समाचारदाता
सुर्खेत, पुस ३ गते । स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र कर्मचारी अभावका कारण बन्द भएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका १२ वटा स्वास्थ्य संस्था बन्द भएका हुन् । नगरपालिकाले साउन १ देखि करार सेवाका कर्मचारीको म्याद थपिदिएन । म्याद नथप्दा नगरपालिकामा सञ्चालित छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र छ वटा सामुदायिक स्वास्थ्य सेवा एकाइ बन्द भएका हुन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा १२८ जना करारका कर्मचारी हटाएको छ । ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकाका कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐन अनुरूप करारका कर्मचारी हटाइएको नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो । नगरपालिकाका १२ वटा स्वास्थ्य सेवा केन्द्र बन्द भएको भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाको आन्तरिक आम्दानी न्यून हुँदा करारका कर्मचारी हटाउनुपर्ने बाध्यता बनेको उहाँको भनाइ छ ।
कर्मचारी हटाउँदा कार्यसम्पादनमा निकै समस्या भएको नगरप्रमुख भण्डारीले बताउनुभयो । शिक्षा र स्वास्थ्यतर्फका कर्मचारी नभएपछि कार्यसम्पादनमा निकै समस्या भइरहेको भन्दै उहाँले अहिले नगरपालिकाले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न लागेको जानकारी दिनुभयो । पालिकाको आन्तरिक आम्दानीले कायम गर्न सकिने गरी ओएनएमको काम अघि बढाइएको उहाँको भनाइ छ । गाउँ गाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि सेवाग्राहीलाई समस्या भएको छ ।
नगरपालिकाको वडा नं. १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चतुरे, वडा नं. ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई र वडा नं. १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी बन्द भएका छन् । यस्तै वडा नं. ६ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ लाटीकाँडा, वडा नं. ८ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ दहसान्ने, वडा नं. ७ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ सिम्ताचौर तथा पैसरा, वडा नं. ९ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ राग र वडा नं. १० मा रहेको सामुदायिक स्वास्थ्य एकाइ बच्छी बन्द भएका छन् । घरआँगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा दुरीमा रहेको साल्कोट अस्पतालमा धाउनु परेको वडा नं. १ का धर्मजित थापाले बताउनुभयो ।
कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाएका छन् । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारी पालिकाले हटाएका हुन् ।धमाधम कर्मचारी हटाउँदा कार्यसम्पादनमा भने असर देखिन थालेको छ ।