रवीन्द्र उप्रेती
बर्दीबास, मङ्सिर ५ गते । मधेशका जिल्लामा छठ पर्वको समापन भएको छ । यसको रौनक भने अझै सकिएको छैन । सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि एकअर्काको घरमा प्रसाद पठाउने र भोजन ग्रहणपछि व्रतालु छठको थकान मेट्न लागेका छन् । अर्कोतिर धान काट्ने चटारो पनि छ । यो बेला बालबालिकाको पनि आफ्नै संसार र व्यस्तता छ । दसैँतिहार लागेदेखि मधेशका विद्यालयमा छुट्टी छ । यही मौका पारेर बालबालिकाको जमात अहिले धानको सिला खोज्न व्यस्त देखिन्छ ।
सिला अर्थात् खेतमा छुटेका एक एक बाला टिपेर जम्मा पारेको धान हो । त्यो धान बेचेर आएको पैसाले बजार मेलामा गएर आफूखुसी रमाइलो गर्न पाइने उद्देश्यले धान काट्ने महिनामा गाउँका बालबालिका शिला खोज्न पुग्छन् । गौशाला बजारका व्यापारी रामवृक्ष साहको बुझाइमा शिला खोज्ने काम रमाइलो र बालबालिकाको कमाइ पनि हो ।
स्थानीय भाषामा सिला खोज्नुलाई ‘लोडाहा विछनु’ भनिन्छ । ‘जसले जति धेरै लोडाहा जम्मा गर्छ उसको उत्तिकै धाक बढ्ने हुँदा केटाकेटीमा बढी बाला जम्मा गर्न होड नै चल्छ । बाल्यकालमा हामी पनि यसै गरी सिला खोजेर रमाइलो गर्थेउँ,” साहले स्मरण गर्नुभयो ।’
यसरी सिला खोज्नेमा मुख्य दलित समुदायका बालबालिका हुन्छन् । उनीहरू दसैँ लागेदेखि सिला खोज्दै आएका छन् । यसबाट आएको पैसाले दसैँतिहार र छठको मेला भरेको उनीहरू बताउँछन् । कसैले सिला खोजेर जम्मा भएको धान बेचेर जाडोमा सुत्ने चटाइ र कमिज, गम्छा जस्ता कपडासमेत किन्ने गरेका छन् । अभावग्रस्त परिवारमा यसरी जम्मा भएको अन्नले छाक टार्न पनि सघाउ पुगेको गौशाला–१०, भरतपुरका उपेन्द्र सदाको भनाइ छ । औरही नगरपालिका–७ को धान खेतमा शिला खोजिरहेका १० वर्षीय सुरुज सदा र उहाँकी सात वर्षीय बहिनी रधियाले शिला खोजेको धान बेचेर जम्मा भएको रुपियाँले छठमा रमाइलो गरेको बताउनुभयो ।
दुवै दाजुबहिनीले दसैँतिहारको बेलातिर पनि स्थानीय पसलमा सिला खोजेको धान बेचेर सोनामाईथानको मेला भरेको सुनाउनुभयो । पर्वमा सबैले रमाइलो गर्छन् तर दलित र विपन्न समुदायका बालबालिकाले कसरी मेला भर्ने ? बाआमाले खर्च दिन सक्दैनन् । यो अभावलाई सिला खोजेको अन्नले केटाकेटीलाई राहत दिन्छ । सिला खोज्न कसैले रोकटोक पनि गर्दैन । यो केटाकेटीको वैध कमाइ पनि हो । खेतमा छरिएका बाला जम्मा पा¥यो, धान झा¥यो । अनि नजिकको पसलमा लगेर बेच्यो । शिला खोज्दा छुटेका खेर गएका धानका बालाको सदुपयोग पनि हुने र यो बाल्यकालको रमाइलोसमेत भएको स्थानीय कृषकको भनाइ छ ।