बर्दीबास समाचारदाता
बर्दीबास, मङ्सिर ५ गते । बर्दीबासको सुदूर उत्तरी क्षेत्रमा पर्ने भब्सी खोलाको कुलो मर्मत नहुँदा राइमण्डल गाउँमा खाद्यान्नको समस्या बढेको छ । चुरेको फेदीमा रहेको यो पुरानो बस्तीमा जनजातिका ५४ परिवारको बसोबास छ । त्यहाँ करिब ५० बिघा खेतीयोग्य जमिन छन् ।
गाउँलेका अनुसार कुलोमा पानी बग्दा ती जग्गामा धान, गहुँ, मकै गरी वर्षको तीन बाली उत्पादन हुन्थे । प्रतिकट्ठा अन्न बाली तीन मन फल्ने गरेको गाउँलेले बताउनुभयो । दलहन र तरकारी पनि उत्तिकै फल्थे । प्रचुर उत्पादन र सदाबहार हरियालीले गाउँमा खुसी छाउँथ्यो ।
सो गाउँका ५५ वर्षीय बेलबहादुर थापाका अनुसार चार वर्षअघि आएको बाढीले भब्सी खोलामा क्षति पु¥याएपछि सिँचाइ सुविधा अवरुद्ध छ । यसले गाउँमा पिउने पानीको समस्या पनि थपेको छ । सिँचाइ अभावले सुन फल्ने जग्गामा खुर्सानीसमेत फल्न छाडेको छ । चरम गरिबीले गर्दा गाउँलेले छोराछोरीलाई स्कुल पठाउनसमेत नसकेको थापाले बताउनुभयो । “कुलोमा पानीको सोतो बग्न छाडेदेखि गाउँमा दुःखैदुःख छ,” उहाँले बाँझो फाँट देखाउँदै भन्नुभयो, “चामल बेसाएर खानु परेको छ । समयमा खान नपाउँदा केटाकेटीसमेत स्कुल जान छाडेका छन् ।”
गाउँका शिक्षित युवा मानिने हेमबहादुर बलम्पाकीले एसएलसी पास गर्नुभएको छ । उहाँका अनुसार डेढ दशकअघिसम्म भब्सी खोलाको पानीले परम्परागत कुलोबाट सिँचाइ हुन्थ्यो । केयर नेपालले त्यसलाई पक्की कुलो बनाइदिएपछि गाउँको मुहार फेरिएको थियो । उत्तिकै पानीले बढी क्षेत्रफल र वर्षभरि सिँचाइ हुन थाल्यो । उत्पादन बढेपछि गाउँलेले बढी भएको खाद्यान्न र तरकारी बर्दीबास बजारसम्म लगेर बिक्री गर्थे । सबै राम्रो हँुदै गयो ।
त्यसपछि चुरे संरक्षणको नाममा पाँच वर्षअघि एउटा गैरसरकारी संस्थाले कुलोको मुहान छेउछाउका किनारमा बाँसका बिरुवा रोपेर देखाए । गाउँलेलाई श्रमदान गर्न लगाएर तार जालीमा ढुङ्गा हालेर दुई तीन ठाउँमा छेको (चेक ड्याम) लगाइदिए । त्यसपछि चार वर्षअघि आएको बाढीले सबै छेको बगायो । भब्सी खोला पनि कुलोभन्दा १०/१५ फिटमुनि भासिएपछि सिँचाइ सुविधा ठप्प भएको बलम्पाकीले बताउनुभयो । खोलामा तार जाली आवश्यक नरहेको बताउँदा बताउँदै संस्थाले जबरजस्ती गरेको गाउँलेको आरोप छ । “तैपनि हामीले खोलाको दुवै किनारामा सिमेन्ट हालेर तार जालीलाई पक्की बनाइदेउ भनी हात जोड्यौँ । त्यो पनि मानिदिएनन् । अहिले त्यही तार जालीले हामीलाई दिनुसम्म दुःख दियो । खेत बाँझै भए,” बेलबहादुर थापाले बताउनुभयो ।
गाउँमा त्यो संस्थाको नाम कसैलाई सम्झना छैन तर खोलो भासिएदेखि तिनका मान्छे फर्केर नआएको गाउँलेको आरोप छ । गाउँका वीरबहादुर रानामगरले चार वर्षदेखि लगातार नगरपालिका र नेता गुहार्दा पनि कुलो मर्मतका लागि कसैले ध्यान नदिएको
गुनासो पोख्नुभयो । “राइमण्डल गाउँ बर्दीबासको शिर र बर्दीबास यसको पुछार हो,” उहाँले गुनासो पोख्नुभयो, “शिरमा दर्द हँुदा पैतालासम्मलाई पोल्नुपर्ने हो तर हाम्रो कुलोमा बग्नुपर्ने पानी खेर गइरहेकोतर्फ कसैको मन पोलेन ।”
गाउँलेको आरोपलाई बर्दीबास नगरपालिकाको गतिविधिले पनि पुष्टि गरेको छ । नगरपालिकाको १२ औँ नगर सभाले पारित गरेको नीति तथा कार्यव्रmममा ‘परम्परागत कुलोको मर्मत सम्भार गर्दै सिँचाइ प्रणाली सुचारु गरिने’ उल्लेख छ । यसका लागि नगरपालिकाको २०८०÷८१ को बजेट वक्तव्यमा पनि सिँचाइका लागि ९५ लाख रुपियाँ विनियोजन गरिएको छ । यो रकमले भब्सी कुलोलाई समेटेको छैन ।
राइमण्डल बर्दीबास वडा नं. ३ अन्तर्गतको गाउँ हो । आव ०८०÷८१ का लागि वडा नं. ३ मा १२ वटा योजनाका लागि ७३ लाख विनियोजन गरिए पनि यसमा राइमण्डल भब्सी कुलो मर्मत समावेश गरिएको छैन । बरु पर्साइधापमा पक्की कुलो निर्माणका लागि पाँच लाख छुट्याइएको छ ।
वडा नं. ३ का वडाध्यक्ष विराट विष्टले भब्सी कुलो मर्मतका लागि आफू निर्वाचित भएदेखि नै लागिपरेको दाबी गर्नुभयो । कुलो मर्मतका लागि राष्ट्रपति चुरे विकास संरक्षण आयोजनाले गत वर्ष नै यसको डिपिआर तयार गरेको विष्टको भनाइ छ । विष्टले भन्नभयो, “यसका लागि केन्द्रले ३० लाख रुपियाँ बजेट पनि विनियोजन गरिसकेको छ । खोला गहिरिएकाले भब्सीमा ‘हारभेस्टिङ ड्याम’ बनाउनु पर्छ । यसले सिँचाइका साथै पर्यटन प्रवर्धनमा पनि टेवा मिल्न सक्छ । त्यसका लागि तत्काल ८० लाख बजेट आवश्यक भएकाले काम अघि बढ्न नसकेको हो । हामी थप बजेटको प्रयासमा छौँ ।