राजन रावत
हुम्ला मङ्सिर ५ गते । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ दार्म गाउँको देउली बजारमा विगत पच्चीस वर्षदेखि खानेपानीको समस्या उस्तै रहेको पाइएको छ । खानेपानीको श्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएको कारण खानेपानीको समस्या उक्त बजारका स्थानीयले भोग्दै आउनुभएको हो ।
देउली बजारकी जानकी विकले विगत पच्चीस वर्षदेखि देउली बजारमा पानीको समस्या रहेको बताउनुभयो । त्यसअघि बस्ती कम भएको कारण सानो मूलको पानीबाट चल्ने गरेको भए पनि त्यसयता बस्ती बढ्दै गएको र उक्त मूलको पानी अपुग हुनुका साथै दश वर्ष अगाडि सुकेको बताउनुभयो । उहाँले स्थानीयलाई एक घण्टा पैदल हिँडेर पानीको व्यवस्था गर्नु परिरहेको बताउनुभयो ।
देउलीका अर्का स्थानीय जनक बुढाले खानेपानी समस्या कहिल्यै समाधान नहुने अवस्थामा रहेको बताउँदै स्थानीयलाई पानीको पिरलो बारम्बार रही रहेको बताउनुभयो । खानेपानी समस्या जहिले पनि उस्तै रहेको बताउँदै उहाँले टाढाको पानी बोकेर ल्याएर प्रयोग गर्नुको अन्य विकल्प नरहेको बताउनुभयो । उहाँले दुई पटक खानेपानीको योजना परेको भए पनि काम गुणस्तरीय नबनेको कारण योजना दिगो नभएको बताउनुभयो । ती योजनामध्ये पहिलो योजनाको धारामा पानी नै नखसेर योजना सम्पन्न भएको थियो । अर्को खानेपानीको स्राेत पनि निक्कै टाढा छ ।
देउली बजारमा एउटा विद्यालय र एक सय घरधुरीको बसोबास हुँदै आएको छ । यो समस्या विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई पनि उस्तै छ । उक्त गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले देउलीमा खानेपानीको समस्या रहेको स्वीकार गर्दै अब बृहत् खानेपानी योजना निर्माणको तयारीमा गाउँपालिका रहेको बताउनुभयो । उहाँले आफू विद्यार्थी हुँदा भोगेको खानेपानीको समस्या अहिले गाउँपालिका अध्यक्ष हुँदा पनि उस्तै रहेको बताउनुभयो ।