गायक रोशन राई ‘पालुवा स्टार’ को नयाँ म्युजिक भिडियो ‘दुई थुङ्गा फूल’ सार्वजनिक गरिएको छ । वियोगान्तक प्रेमकथामा आधारित गीतको रचना तथा सङ्गीत जेठा चाम्लिङले गर्नुभएको छ । हसन राईको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गर्नुभएको छ । म्युजिक भिडियोमा निर्देशक भट्टराई, समापिका पौडेलको अभिनय रहेको छ । भिडियोले एक साता नबित्दै करिब एक लाख दर्शकको माया पाएको छ । दुई दशकदेखि सुगम सङ्गीतको क्षेत्रमा क्रियाशील राईको यसअघि पनि दर्जनौँ सिर्जना सार्वजनिक भइसकेको छ ।
चलचित्र ‘जन्ते बाख्रो’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो । प्रदीप भारद्वाजले लेख्नुभएको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ । ग्रामीण परिवेशको कथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रका अन्य कलाकार छनोटका चरणमा रहेको निर्देशक सुनुवारले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर–११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गर्नुभएको डेरी उद्योगको लगानी हाल ५० लाख रुपियाँ पुगेको छ । दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिकका रूपमा काम गर्दैगर्दा २०७४ सालमा एक लाख रुपियाँको लगानीमा कोहलपुर–१० मा ए वन डेरी सञ्चालन गरेका पौडेलको डेरीको लगानी पुँजी अहिले ५० लाख पुगेको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले बक्यौता रकम भुक्तानी नगरेको भन्दै दुध किसानले आन्दोलन सुरु गरेका छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घको अगुवाइमा भएको आन्दोलनमा सहभागी किसानले बुधबार बिहानदेखि लैनचौरस्थित डिडिसीको कार्यालय घेराउ गरेका थिए । बिक्री भएको दुधको बक्यौता रकम तत्कालै भुक्तानी हुनुपर्ने माग गर्दै आन्दोलन गर्दा प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरी केही समय थुनामा राखेको थियो ।
खाद्य तथा कृषि क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खाद्य प्रणाली रूपान्तरणको खाँचो औँल्याउँदै सरोकारवालाले संयुक्त राष्ट्र सङ्घ, सरकार तथा गैरसरकारी निकाय, सञ्चारकर्मीलगायत सबैले खाद्य स्वच्छता र सुरक्षाका सवालमा गम्भीर भएर लाग्न जोड दिएका हुन् ।
हिमालपारिको जिल्ला मुस्ताङमा हिउँदे बाली थन्क्याउनेतर्फ कृषक सक्रिय हुन थालेका छन् । हिउँदमा लगाइने बाली अहिले थन्क्याउनका लागि उपयुक्त भएकाले कृषक अहिले आफ्नो खेतीपातीमा व्यस्त हुन थालेका हुन् । परम्परागत रूपमा लगाउँदै आएको रैथाने बाली करु (उवा) अहिले पाकेर पहेँलपुर भएकाले यसलाई थन्क्याउन मुस्ताङी जनतालाई भ्याइनभ्याई छ । गुम्बामा हुने पूजाअर्चनामा महत्वका साथ प्रयोग हुने र पौष्टिकताले भरिपूर्ण हुने करुलाई थन्क्याउनका लागि अहिले मुस्ताङीले मेहनत गरिरहेका छन् ।
आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यका साथ ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनालाई सहयोग पुग्ने गरी आन्तरिक रोजगार प्रवर्धन महाशाखा गठन गरिने जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ देखि प्रधानमन्त्री रोगगार कार्यक्रमको सबै ढाँचा पुनर्संरचना गरेर सञ्चालन गर्नका लागि सो महाशाखा गठन गर्न लागेको हो ।
ससर्त अनुदान शीर्षक अन्तर्गत सङ्घबाट स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण खारेज गर्नुपर्ने सुझाव सरकारले नै गठन गरेको समितिले दिएको छ । सरकारलाई कर प्रणाली सुधार सम्बन्धमा सुझाव दिन गठन गरिएको कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले ससर्त अनुदान अन्तर्गत सञ्चालित हुने अधिकांश आयोजनाको विनियोजन र खर्च हचुवाको भरमा भएकाले स्थानीयस्तरका आयोजनामा सङ्घले ससर्त विनियोजन गर्ने प्रणाली खारेज गर्नुपर्ने सुझाव दिएको हो ।
“बिहान घाम नझुल्किँदै शौचालय गइसक्नु पर्छ दिउँसो दिसा लाग्यो भने त च्यापेरै बस्ने हो । कतिबेला अँध्यारो होला भनेर कुर्नुपर्ने बाध्यता छ । अब त रोक्ने बानी पनि परिसक्यो तर बिरामी हुँदा भने धेरै समस्या हुन्छ ।” यो पीडादायी अभिव्यक्ति कपिलवस्तु नगरपालिका–१२, बिठुवाका महिलाको हो तर यो उनीहरूको मात्र समस्या होइन बरु नेपालका तराई र पहाडका अधिकांश स्थानमा शौचालयको अभावमा सर्वसाधारणले बेहोर्नुपरेको लज्जास्पद पीडाको प्रतिनिधि भनाइ पनि हो ।
नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो । सदरमुकामका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र एकीकृत प्रशासनिक भवन बनाउन टेन्डर प्रक्रियाले लगभग अन्तिम रूप लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् ।
मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पुनर्लेखनको माग गरेका छन् ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजका तीन वटा कर्मचारी युनियनले त्यहाँको व्यवस्थापन समक्ष संयुक्त रूपमा ७ बुँदे मागपत्र पेस गरेका छन्।
कैलालीका १३ वटा स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड ९६ लाख १७ हजार रुपियाँ पुगेको छ ।