• १३ साउन २०८१, आइतबार

खाद्य स्वच्छता तथा सुरक्षामा जोड

blog

काठमाडौँ, असार ६ गते ।  खाद्य तथा कृषि क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  

खाद्य प्रणाली रूपान्तरणको खाँचो औँल्याउँदै सरोकारवालाले संयुक्त राष्ट्र सङ्घ, सरकार तथा गैरसरकारी निकाय, सञ्चारकर्मीलगायत सबैले खाद्य स्वच्छता र सुरक्षाका सवालमा गम्भीर भएर लाग्न जोड दिएका हुन् । 

एसोसियसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स (अनाज) र संयुक्त राष्ट्र सङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा बुधबार आयोजना गरेको खाद्य तथा कृषि रूपान्तरणका पत्रकारिताका विषयमा आयोजित कार्यशालामा वक्ताहरूले सो जोड दिएका हुन् । 

कार्यक्रममा एफएओका भुटान र नेपालका प्रमुख केन सिमिजुले कृषि तथा खाद्य क्षेत्रका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । सिमिजुले कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरूले कलम चलाउने विषय प्रशस्त रहेको र एफएओ पनि कृषि सञ्चारलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रमुख सिमिजुले सामाजिक सञ्जालले फाइदा भइरहेको भए पनि डिपफेक जस्ता नराम्रा गतिविधि चुनौतीका रूपमा आइरहेकाले पत्रकारलाई यसतर्फ सचेत रहन सुझाव पनि दिनुभयो । 

नेपालमा दिगो खाद्य व्यवस्था तथा दिगो कृषि, हिमाल, वातावरण, कृषिसम्बन्धी नयाँ प्रविधि, त्यसको सम्भावना र चुनौती, वातवरणीय परिवर्तनलगायतका विषय उठान गरिनुपर्ने र यी विषयमा एफएओले पनि प्राथमिकतासाथ काम गरिरहेको जानकारी उहाँले गराउनुभयो । 

क्यानडाको युनिभर्सिटी अफ ओटवाका प्रोफेसर डा. भानुभक्त आचार्यले पत्रकारिताको वर्तमान अवस्था र चुनौतीबारे विश्लेषणात्मक प्रस्तुति दिनुभयो । अहिले कृषिसम्बन्धी अध्ययन अनुसन्धान तथा र एग्रिकल्चर एड्भोकेसीलाई सञ्चार माध्यमले जोड दिनुपर्ने बताउनुभयो । सञ्चार माध्यमले हालसम्म कृषिबारे समाचार बनाएपछि एजेन्डा त्यही नभएको उल्लेख गर्नुभयो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य स्वच्छता बढाउनका लागि लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले आयातित खाद्य वस्तुको नियन्त्रणका लागि आयात अनुमति लिनुपर्ने व्यवस्था रहेको र ऐनमै यसलाई समावेश गरिएको बताउनुभयो । लाइसेन्स ट्रेस गर्ने तथा आयात गरिरहेको वस्तु र उसले ल्याउँछु भनेको वस्तुमा तालमेलका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

“कहिले भन्सारको कार्यक्षेत्र हो वा कसको भन्ने नै कन्फ्युज भइरहेको हुन्छ । कुन कार्यालयको क्षेत्राधिकार के हो भन्ने विषयमा उपभोक्ता र सरोकारवाला सचेत रहनु पर्छ,” उहाँले भन्नुभयो । महाप्रबन्धक वैद्यले यो क्षेत्र संरचनागत रूपमा ठुलो भए पनि बजेट एकदमै कम भएको बताउनुभयो । 

अनाजका अध्यक्ष किरण आचार्यले कृषि पत्रकारिता अधिक जिम्मेवार र प्राविधिक पत्रकारिता भएकाले अध्ययन अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताउनुभयो । एफएओ नेपालका सहयोग प्रतिनिधि डा. विनोद शाहले कार्यक्रमको कृषि र वातावरणलाई सँगै राखेर दिगो विकास हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।