• १३ असार २०८१, बिहिबार

भुक्तानी माग गर्दै दुध किसानद्वारा आन्दोलन

blog

काठमाडौँ, असार ६ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले बक्यौता रकम भुक्तानी नगरेको भन्दै दुध किसानले आन्दोलन सुरु गरेका छन् । 

केन्द्रीय दुग्ध सहकारी सङ्घको अगुवाइमा भएको आन्दोलनमा सहभागी किसानले बुधबार बिहानदेखि लैनचौरस्थित डिडिसीको कार्यालय घेराउ गरेका थिए । बिक्री भएको दुधको बक्यौता रकम तत्कालै भुक्तानी हुनुपर्ने माग गर्दै आन्दोलन गर्दा प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरी केही समय थुनामा राखेको थियो । 

सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले किसानले भुक्तानी माग्दै शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेर केही समय हिरासतमा राखेको बताउनुभयो । किसानले दुधको बक्यौता रकम प्राप्त नगरेसम्म आन्दोलन नरोकिने बताउँदै उहाँले डिडिसीले मात्र किसानलाई दुई अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको दाबी गर्दै उहाँले त्यो प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । 

डिडिसी र निजी क्षेत्रको गरी किसानलाई भुक्तानी गर्न पाँच अर्ब रुपियाँ बाँकी रहेको उहाँले दाबी गर्नुभयो तर डिडिसीका कार्यवाहक महानिर्देशक राजेन्द्र अधिकारीले वैशाखदेखि हालसम्म ८० करोड बक्यौता रकम भुक्तानी भइसकेको र हाल एक अर्ब तीन करोड रुपियाँ बक्यौता रहेको बताउनुभयो । अहिले नियमित भुक्तानी भइरहेको छ तर बक्यौता रकम घटिरहेको छैन । दुध सङ्कलन बढी र खपत कम भएका कारण भुक्तानीमा समस्या भइरहेको उहाँले बताउनुभयो । 

उहाँले हाल डिडिसीले एक लाख २० हजार लिटर दुध सङ्कलन गरिरहेको छ भने ९५ हजारदेखि एक लाख लिटरसम्म खपत गरिरहेका कारण भुक्तानीमा समस्या भइरहेको बताउनुभयो । सरकारसँग लिएको ३० करोड सहुलियत ऋणमा डिडिसीबाट ५० करोड थपेर किसानलाई भुक्तानी गरिसकेको बताउँदै उहाँले दुग्ध पदार्थ मौज्दात अत्यधिक भएका कारणले भुक्तानीमा समस्या भइरहेको बताउनुभयो । 

यो भुक्तानीको समस्या डिडिसीसँग मात्र होइन, अन्य डेरीसँग पनि रहेको छ, भुक्तानीसँग सम्बन्धित सबै ठाउँको समस्या एउटै भएका कारण यसका समाधान एकमुष्ट रूपमा हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । यसअघि यस्तै आन्दोलन हुँदा सरकार र किसानबिचमा २०८० फागुन १९ गते पाँचबुँदे सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०८० चैत २१ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति भएको थियो तर सो अवधिमा कुनै डेरी उद्योगीले भुक्तानी गर्न सकेनन् ।