• १२ साउन २०८१, शनिबार

नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु

blog

नमुना सदरमुकाम निर्माण स्थल । इन्सेटमा सदरमुकामको डिपिआर स्केच ।

बोमलाल गिरी

नवलपुर, असार ६ गते । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो । 

सदरमुकामका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र एकीकृत प्रशासनिक भवन बनाउन टेन्डर प्रक्रियाले लगभग अन्तिम रूप लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो । 

भवन निर्माणका लागि २५ वटा निर्माण कम्पनीले टेन्डर हालेका थिए । त्यसमध्ये सबैभन्दा सस्तो दरमा टेन्डर हाल्नेको नाम चयन गरिएको छ तर छनोटमा परेको कम्पनीले निकै सस्तो दरमा टेन्डर हालेकाले भवन निर्माण गर्न सक्ने त्यसको आधार खोजेर मात्र ठेकेदार कम्पनीको नाम सार्वजनिक गर्ने सघन सहरी विकास तथा भवन निर्माण कार्यालय चितवनले जनाएको छ । उक्त कम्पनीले आधार पेस गरेपछि मूल्याङ्कन गरेर आशय निकाल्ने र एक हप्ताभित्रमा सम्झौता गर्ने तयारी गरिएको भवन निर्माण कार्यालय चितवनका प्रमुख इन्जिनियर झपटबहादुर थापाले जानकारी दिनुभयो । 

सहजीकरण गर्न समिति 

भवन निर्माणको कामलाई सहयोग गर्न पाँच सदस्यीय जिल्ला सहजीकरण समिति बनाइएको छ । जिल्लामा रहेका कार्यालय प्रमुखहरूको बुधबारको बैठकले सहजीकरण समिति बनाएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अधिकृतको संयोजकत्वमा बनेको समितिमा डिभिजन वन, नापी, मालपोत, प्रदेश पूर्वाधार कार्यालय र सघन सहरी विकास तथा भवन निर्माण कार्यालयका एक/एक जना प्रतिनिधि राखिएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । यो समितिले सदरमुकाम निर्माणका क्रममा आउने सबै समस्या समाधानका लागि सहजीकरण गर्ने बताइएको छ । 

रुख काट्न वनलाई पत्राचार

वातावरण प्रभाव मूल्याङ्कन अनुसार भवन निर्माण स्थलमा रहेको रुख काट्न सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले डिभिजन वन कार्यालय नवलपुरलाई पत्राचार गरेको छ । कार्यालयको पत्र अनुसार प्रक्रिया अघि बढाउने डिभिजन वन कार्यालयका प्रमुख वसन्तकेशव अधिकारीले जानकारी दिनुभयो । 

“कार्यालयले हामीलाई पत्र पठाएको छ । हामी त्यो वन विभागमा जानकारी गराउँछौँ, वनले मन्त्रालयमा जानकारी गराएर अनुमति पाए रुख कटानको काम सुरु हुन्छ,” अधिकारीले भन्नुभयो । डिभिजन वनका अनुसार यो क्षेत्रमा रहेका ६४२ रुख कटान गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले अनुमति दिएमा इआइएको प्रतिनिधि आइसकेपछि उसको निगरानीमा रुखको नम्बरिङ गर्ने र कटानको काम सुरु हुने अधिकारीले बताउनुभयो । त्यसअघि सदरमुकाम निर्माणका लागि कावासोती नगरपालिका–३, राममन्दिर चौरमा सङ्घीय सरकारले उपलब्ध गराएको १८६ बिघा जग्गा पुनः नापजाँच गर्नुपर्ने र यो सबै गर्न कम्तीमा एक हप्ता लाग्ने डिभिजन वनले जनाएको छ । 

पहिलो चरणमा तीन वटा भवन बनाइसकेपछि दोस्रो चरणमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार, सुधारगृह, यातायात सेवा कार्यालय, पूर्वाधार कार्यालय, सशस्त्र प्रहरी कार्यालय र प्राथमिकताका आधारमा अन्य कार्यालय निर्माण गर्ने योजना अघि सारिएको छ ।

सदरमुकामलाई ८० करोड

भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको २० करोड, अर्थ मन्त्रालयले सुनिश्चित गरेको थप ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन भएको ८० करोड लागतमा बहुवर्षीय योजना अन्तर्गत भवन निर्माणको काम अघि बढाउन लागिएको हो । रुकुमपश्चिम र नवलपुरका लागि भनेर विनियोजन गरिएको एक अर्ब २१ करोडमध्ये नवलपुरका लागि ८० करोड विनियोजन भएको छ । 

आव २०७८/७९ मा झन्डै ३४ करोड रुपियाँ बजेट विनियोजन भएको थियो तर सो अनुसार बहुवर्षीय आयोजनामा जान पनि नसकेको र कुनै भवन निर्माण सुरु हुन पनि नसकेपछि सबै रकम फ्रिज भएको थियो । प्रारम्भिक गुरुयोजना सम्पन्न गर्न ३६ अर्ब ४३ करोड लागत अनुमान गरिएको नमुना सदरमुकाम सम्पन्न गर्न अहिले भने १६ अर्ब लाग्ने अनुमान गरिएको भवन डिभिजन भरतपुरले जनाएको छ ।