बबई समाचारदाता
बबई (बर्दिया), असार १७ गते । बर्दियामा बबई नदीको बाढीको जोखिममा रहेको सदरमुकाम गुलरिया बचाउनका लागि स्थापना भएको बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयले सरकारसँग अनुरोध गरेका छन् । बर्दियाको सदरमुकाम गुलरिया भएर बग्ने बबई नदीमा आउने बाढीले सदरमुकाम नै जोखिममा छ । बबई नदीको बाढी र कटानबाट सदरमुकाम गुलरियालाई जोगाउन स्थापना भएको बबई भादा औरही नदी व्यवस्थापन आयोजना सरकारले आर्थिक वर्ष २०८२/८३ मा डडेलधुरा स्थानान्तरण गर्न थालेपछि स्थानीयले भने कार्यालय स्थानान्तरण नगर्न सरकार र सरोकारवाला निकायसँग अनुरोध गरेका हुन् ।
बबई नदीको उत्तरमा बबई सिँचाइ आयोजनाले र बबई नदीको दक्षिणतर्फको भागमा बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले काम गर्ने गरी २०७४ सालमा कार्यालय स्थापना गरिएको थियो । बबई भादा औरही नदी व्यवस्थापन आयोजनालाई आगामी वर्षदेखि राजापुरको कर्णाली नदी व्यवस्थापन आयोजनामा गाभ्ने र कार्यालयको जनशक्तिलाई डडेलधुरा सार्ने निर्णय सरकारले गरेको छ । जसले गर्दा जोखिम रहेको गुलरिया बाढीको चपेटामा पर्ने देखिएको छ ।
सदरमुकाम बचाउने मुख्य उद्देश्यले स्थापना गरिएको कार्यालयले सात वर्षको समयमा २२ किलोमिटर नदी व्यवस्थापनको काम गरेको छ । अझै करिब छ किलोमिटर नदी व्यवस्थापन गर्न बाँकी रहेको छ भने विगतका वर्षमा भएका कामको मर्मत गर्न समेत कार्यालयसँग बजेट छैन ।