• १३ असार २०८१, बिहिबार

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको सात बुँदे माग

blog

व्यवस्थापनलाई माग पत्र बुझाउँदै कर्मचारी युनियनका प्रतिनिधि। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगन्ज, असार ५ गते। लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजका तीन वटा कर्मचारी युनियनले त्यहाँको व्यवस्थापन समक्ष संयुक्त रूपमा ७ बुँदे मागपत्र पेस गरेका छन्। 

उनीहरूले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजका कार्यकारी प्रमुख सन्तोष कुमार बिएनलाई सो मागपत्र बुझाएका हुन्।

श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ अनुसार प्रत्येक दुई दुई वर्षमा मागपत्र पेस गरेर वार्ता र छलफलबाट आफ्ना माग सम्बोधन गर्ने परिपाटी अनुसार यसपटक पनि मागपत्र पेस गरिएको कर्मचारी सङ्गठनका केन्द्रीय सभापति तथा वार्ता कमिटीका सभापति रत्ना गिरीले बताउनुभयो। 

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा कर्मचारीको भेला पश्चात् गरिएको पत्रकार सम्मेलनमा बोल्दै कर्मचारी सङ्गठनका केन्द्रीय सभापति तथा वार्ता टोलीका संयोजक गिरीले व्यवस्थापन पक्षले प्रत्येक वर्ष अहिलेको महँगीलाई मध्यनजर गर्दै तलब भत्ता स्वतः बढाउनु पर्नेमा त्यसो नगरेको हुँदा बाध्य भई मागपत्र पेस गर्नु परेको जनाउनुभयो। 

कर्मचारी सङ्घका केन्द्रीय सभापति यमबहादुर खड्काले एक हजार १२ जना भन्दा बढी कर्मचारीको विगत दुई वर्षदेखि तलब भत्ता नबढेको हुँदा मागपत्र पेस गर्नुपरेको बताउनुभयो। 

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापाले युनियनले पेस गरेका ७ बुँदा र ४५ उप बुँदालाई व्यवस्थापन पक्षले पूरा गर्नुपर्ने जनाउँदै महँगीले नेटो काटेको बेलामा स्वतः तलब भत्ता, वृत्ति विकास हुनुपर्नेमा सधैँ आन्दोलन नै गर्नुपर्ने परिपाटीको अन्त्य व्यवस्थापनले गर्नुपर्नेमा जोड दिनुभयो।