बुधवार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाएपछि भानु मार्गको डुम्रे–इन्द्रावती खण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसल स्थित खत्री खोलामा आएको बाढीले कल्भर्टमा पूर्ण क्षति पुर्याएपछि अवरुद्ध भएको हो ।
विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा अहिले पनि रासायनिक मल (डिएपी र युरिया) करिब १२ हजार मेट्रिक टन मौज्दात छ । त्यस्तै गरी फरक फरक कन्साइन्मेन्टको ७५ हजार मेट्रिक टन आउँदै गरेकाले विगतका वर्षमा जस्तो यस वर्ष बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने कम्पनीको मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको हो ।
युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।
रुपन्देहीको तराई भूभागमा लामो समय खडेरी परेपछि सर्वसाधारणले खानेपानीको सास्ती पाएका छन् । तराईका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानीको स्रोतका लागि अझै पनि चापाकलको भर पर्दै आएका छन् तर चापाकलमा पानी आउन छोडेपछि खानेपानी जोहो गर्ने चुनौती थपिएको छ । रुपन्देहीमा एक महिनायता पानी परेको छैन । गर्मी बढेसँगै जमिनमुनिको पानीको स्रोतसमेत सुकेपछि स्थानीयलाई झनै सास्ती भएको छ । अहिले किसानले रोपाइँका लागि ब्याड राख्ने काम गरिरहेका छन् ।
पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको हो ।
दाङमा वायुको गुणस्तर मापनका लागि छ वर्षअघि स्थापना भएको वायु प्रदूषण मापन केन्द्र बिग्रिएर थन्किएको छ । वातावरण विभागले एक करोड २५ लाखको लागतमा २०७५ साल जेठ महिनामा घोराही उपमहानगरपालिका–२, रामपुरमा केन्द्र स्थापना गरेको हो । वायु प्रदूषण मापन केन्द्रको उपकरण बिग्रिँदा दुई वर्षदेखि जिल्लाको वायु गुणस्तरको जानकारी आउन सकेको छैन ।
आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताउनुभयो । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ ।
भारतबाट आउने अधिकांश पर्यटक बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा रहेको स्काई साइक्लिङमा आकर्षित हुने गरेका छन् । गत वर्षदेखि सुरु भएको स्काई साइक्लिङमा रमाउनेमा भारतीय पर्यटकको सङ्ख्या बढेको हो । फूलबारीमा स्काई साइक्लिङ सुरु भएको करिब एक वर्षमै २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङ गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले स्काई साइक्लिङमा रमाउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङको अनुभव लिएको बताउनुभयो ।
गुल्मीमा टेन्डर भएको झन्डै एक दशकपछि सडकको कालोपत्रे गरिएको छ । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडकको अर्घाखाँची जिपपार्कदेखि जन्तेढुङ्गा (सिस्नेहार) सम्मको सडक झन्डै एक दशकपछि कालोपत्रे गरिएको हो । पटक पटकको ताकेता र दबाबपछि मात्र निर्माण कम्पनीले लामो समयपछि धेरै पुरानो ठेक्का अर्घाखाँची जिपपार्कदेखि जन्तेढुङ्गसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न लागेको हो । पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गरिएको थियो ।
तनहुँको घिरिङ गाउँपालिकामा कृषिको प्रचुर सम्भावना छ । यो पालिकाको पूर्वमा ऋषिङ गाउँपालिका, पश्चिममा स्याङ्जाको चापाकोट नगरपालिका उत्तरमा भीमाद नगरपालिका र दक्षिणमा नवलपरासीको बौदीकाली गाउँपालिका तथा पाल्पा जिल्लाको रामपुर नगरपालिका पर्दछन् । यस गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा नेकपा एमालेका तर्फबाट निर्वाचित हुनुभएको हो । अध्यक्ष थापासँग गोरखापत्रका तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
विषयगत क्षेत्रका हिसाबले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग थुप्रै कार्यक्रम छन् । कानुन र न्यायदेखि शान्ति, सुरक्षा र विपत् व्यवस्थापनसम्मको क्षेत्र यो मन्त्रालयले हेर्ने गर्छ । कार्यक्षेत्र फराकिलो भए पनि आउने आर्थिक वर्षमा बजेट र कार्यक्रम भने साँघुरिएको छ । गत वर्षको बजेटभन्दा आगामी आव २०८१/८२ का लागि करिब पाँच करोडले बजेट घटाइएको छ । प्रदेश सभामा पेस गरिएको बजेटमा कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ । चालु आव २०८०/८१ मा ३४ करोड ३० लाख २१ हजार विनियोजन गरिएको थियो । त्यसो त मन्त्रालयको चालु आवको बजेट कार्यान्वयन पनि निराशाजनक नै छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
रोजगारीका लागी साउदी अरब पुगेर फर्केका भगवतीमाई गाउँपालिका–४, मन्घरका सुनील बिसीले विदेश बस्दाको अपमानभन्दा स्वदेशमै बसेर पसिना बगाउने प्रण गर्नुभएको छ । दुई वर्ष विदेशमा बसेर फर्केका बिसीले भन्नुभयो, “विदेश बस्दा जस्तो खालको मैले अपमान सहेँ, त्यो सम्झन पनि मन छैन । अब जे जति पसिना बगाउँछु, आफ्नै गाउँमा बगाउँछु भनेर कृषि पेसामा लागेको छु ।” दुई रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले ३० रोपनीमा फैलिएको छ । त्यसमा आलु, काउली, बन्दा र अन्य तरकारी खेती गरिरहेका उहाँले अझै जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्ने योजना बनाइरहनुभएको छ । विदेशको अपमानले स्वदेशमै फर्किएर तरकारी खेती गर्नुभएका भएका बिसीको वार्षिक आम्दानी सातदेखि १० लाख रुपियाँसम्म हुने गरेको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुहुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालको सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन केन्द्र व्यवस्थापन गरिएको छ । दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको तालको पूर्वतर्फ र पश्चिमतर्फ दुई वटा गोही प्रजनन केन्द्र स्थापना गरिएका छन् । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा डल्फिन संरक्षण केन्द्रले दुई वटा गोही प्रजनन केन्द्रको उचित व्यवस्थापन गरेको हो । मगर गोही प्रजनन केन्द्र व्यवस्थापनमा खटिएका कृष्ण चौधरीले डुङ्गाको सहायताले बालुवा बोकेर प्रजनन केन्द्र व्यवस्थित गर्ने काम भएको बताउनुभयो ।