• १२ मंसिर २०८१, बुधबार

टेन्डर भएको एक दशकपछि सडक कालोपत्रे

blog

कालोपत्रे हुँदै गरेको सडक अनुगमन गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता 

गुल्मी, असार ६ गते । गुल्मीमा टेन्डर भएको झन्डै एक दशकपछि सडकको कालोपत्रे गरिएको छ । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडकको अर्घाखाँची जिपपार्कदेखि जन्तेढुङ्गा (सिस्नेहार) सम्मको सडक झन्डै एक दशकपछि कालोपत्रे गरिएको हो । 

पटक पटकको ताकेता र दबाबपछि मात्र निर्माण कम्पनीले लामो समयपछि धेरै पुरानो ठेक्का अर्घाखाँची जिपपार्कदेखि जन्तेढुङ्गसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न लागेको हो । पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गरिएको थियो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले निर्माण व्यवसायीको लापर्बाहीका कारण काम हुन नसक्दा यो सडक अलपत्र अवस्थामा रहेकोे बताउनुभयो । आफूहरू निर्वाचित भएर आएसँगै पटक पटकको संवाद, दबाब र सङ्घर्षबाट सडक कालोपत्रे हुन लागेको उहाँले बताउनुभयो । सडक कालोपत्रे हुनासाथ यस क्षेत्रका नागरिकले पाएको सास्तीको अन्त्य हुने छ । गुल्मीको रेसुङ्गादेखि प्युठानको स्वर्गद्वारी जोड्ने यो एउटा महìवपूर्ण सडक हो । नगरप्रमुख पन्थीले लुम्बिनी प्रदेशको राजधानी दाङ पुग्न पनि अत्यन्तै छोटो सडकका रूपमा रहेको बताउनुभयो ।

यस सडक खण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने दुई वर्षअघि नै कालोपत्रे भएको थियो । २०७२ साल चैत ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार रुपियाँमा लोहोनी एन्ड ब्रदर्श प्रालि चितवनले २०७१ साल असार ३१ गते सम्झौता गरेको थियो ।