बुटवल समाचारदाता
बुटवल, असार ६ गते । भारतबाट आउने अधिकांश पर्यटक बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा रहेको स्काई साइक्लिङमा आकर्षित हुने गरेका छन् । गत वर्षदेखि सुरु भएको स्काई साइक्लिङमा रमाउनेमा भारतीय पर्यटकको सङ्ख्या बढेको हो । फूलबारीमा स्काई साइक्लिङ सुरु भएको करिब एक वर्षमै २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङ गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले स्काई साइक्लिङमा रमाउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा २० हजार आन्तरिक तथा बाह्य पर्यटकले स्काई साइक्लिङको अनुभव लिएको बताउनुभयो ।
भारतका विभिन्न सहरबाट आउने पर्यटक बुटवलको फूलबारीमा रहेको स्काई साइक्लिङमा रमाउने गरेका हुन् । भारतीय पर्यटक स्काई साइक्लिङप्रति आकर्षित हुने बताउँदै उहाँले दैनिक सरदर ५० जनाले स्काई साइक्लिङ गर्ने बताउनुभयो । विसं १५७५ मा निर्मित सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष रहेको फूलबारी घुम्न आउने पर्यटकको मुख्य आकर्षण स्काई साइक्लिङ बनेको हो । प्रमुख कार्यकारी अधिकृत सिलवालले स्काई साइक्लिङ जोखिमका रूपमा समेत लिइने भएकाले दीर्घरोगी तथा मुटुरोगीले भने साइक्लिङ गर्दा विचार पु¥याउनुपर्ने बताउनुभयो । स्काई साइक्लिङ गर्नेहरू ७५ मिटर लम्बाइ र ३२ फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन् ।
मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का पूर्वअध्यक्ष खेमप्रसाद लुइँटेलले अङ्ग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको ऐतिहासिक क्षेत्र मणिमुकुन्द उद्यान (फूलबारी) मा साइक्लिङ सेवा बुटवलको पर्यटन विकासमा महìवपूर्ण सहयोग पुगेको बताउनुभयो ।