• १ जेठ २०८२, बिहिबार

डुम्रे–इन्द्रावती खण्ड अवरुद्ध

blog

अमरराज नहर्की

तनहुँ, असार ६ गते । बुधवार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाएपछि भानु मार्गको डुम्रे–इन्द्रावती खण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसल स्थित खत्री खोलामा आएको बाढीले  कल्भर्टमा पूर्ण क्षति पुर्‍याएपछि अवरुद्ध भएको हो ।

भानु नगरपालिका वडा नम्बर ६, ७ र १३ का बासिन्दा यातायात सेवाबाट वञ्चित भएका भानु नगरपालिका–१३ चन्दावतीका कुवेर खनालले जानकारी दिनुभयो । यस मार्गका उपभोक्ता वर्षाैं अघिदेखि पुलको माग राख्दै आए पनि पूरा नहुँदा जनताले सास्ती भोग्नुपरेको खनाल बताउनुहुन्छ । खनालले भन्नुभयो, गत वर्ष पनि कल्भट बाढीले बगाएको थियो, वर्षैपिच्छे कल्भर्ट बनाउने खर्चले पुल बनाउन सकिन्छ तर त्यसमा ध्यान पुगेको छैन ।

 खत्री खोला ठाडो खोला भएकाले पुल बनाउनुको विकल्प नभएको खनालको भनाइ छ । भानु नगरपालिकाको उपप्रमुख उमा गोतामेले मोटर गुड्ने पुल निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारसँग माग गरिएको भए पनि बजेट विनियोजन नगरेको बताउनुभयो । स्थानीय बासिन्दालाई समस्या नपरोस् भनेर कल्भर्ट मर्मत गर्ने काम भइरहेको उपप्रमुख गोतामे बताउनुहुन्छ । यातायात आवागमन बन्द हुँदा यात्रु अलपत्र परेका छन् ।


बाढीले क्षति पुर्‍याएको कल्भर्ट । तस्बिर: अमरराज नहर्की