राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभा बैठक पेश भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर सुनाउनुभएको हो ।
धीरेन्द्र प्रसाद साहजनकपुर, साउन ३१ गते । मधेश प्रदेश सरकारले जारी राखेको धर्ना कार्यक्रम स्थगन गरिएको छ । प्रहरी समायोजनको माग गर्दै दुई दिनदेखि जारी धर्ना आज मङ्गलबारबाट स्थगन भएको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धर्नास्थलमै बताउनुभएकाे हाे ।मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले धर्ना स्थगन गर्नुभयाे। सो बेला प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत प्रदेश सभा सदस्यहरूको सहभागिता थियो । अब बन्ने सरकारले प्राथमिकतामा राखेर प्रहरी समायोजन गर्ने आश्वासन दिलाएकाले धर्ना स्थगन गरिएको मुख्यमन्त्री राउतले बताउनुभयो ।
राजु लामिछाने रुकुम पश्चिम, साउन ३१ गते । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका रुकुम पश्चिमका पाँच जना शिक्षक पुनर्बहाली हुनुभएको छ । सोमबार शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले उहाँहरुलाई पुनर्बहाली गरेर नियुक्ति पत्र प्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार पुनर्बहालीको पत्र बुझेर पाँच जना शिक्षकहरु दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जानुभएको छ । इकाई प्रमुख तारा प्रकाश पुनका अनुसार ओमप्रकाश बिसी, रामबहादुर बुढामगर, जीतबहादुर शाह, मधुसुदन अधिकारी र नगरबहादुर खड्कालाई पुनर्बहाली गरिएको हो । पुनर्बहाली हुने पाँचै जना शिक्षकहरू प्राथमिक तहको दरबन्दीमा रहेको कार्यालयले जनाएको छ । सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मङ्सिरमा दिएको प्रतिवेदनअनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।शिक्षकहरूले विद्यालयमा हाजिर भएको मितिदेखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुञ्जेलको अवधिको तलब भत्ता, विदा, पोसाक, चाडपर्व खर्चलगायतका सुविधा नदिने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ ।
दिवाकर पोख्रेल देउखुरी, साउन ३१ गते । दाङको देउखुरीमा राप्ती कोरिडोर निर्माण हुने भएको छ । राप्ती नदीको दुबै क्षेत्रमा करिडोर निर्माण हुने भएको हो । एशियाली विकास बैंक (एडिवी) को करिव १० अर्वको लगानीमा निर्माण हुने कोरिडोर राप्ती गाउँपालिकाबाट शुरु भएर बाँके जिल्लाको राप्ती सनोरी गाउँपालिकाको अघैयामा सम्म पुग्नेछ ।शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीस्थित ईन्टेक नम्बर २ मा विधिवत् रुपमा शिलान्यास गर्नुभएको छ । कोरिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले राप्ती कोरिडोर देउखुरीबासीको भविष्य र आफ्नो सपनाको परियोजना भएको बताउनुभयो । सङ्घीय निर्वाचनका बेला आफूले जनता माझ गरेको चार वटा महत्वपूर्ण याजना मध्ये राप्ती कोरिडोर पनि भएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,“राप्ती कोरिडोर यत्तिकै ल्याइएको योजना होइन, यसबाट राप्ती नदीले कटान गर्ने देउखुरी उपत्यकाको हजारौं विगाहा जग्गा संरक्षण हुने, नदीको दुबै किनाराबाट सडक जाने हुँदा सभ्यतामा आधारित कोरिडोरको रुपमा लिन सकिन्छ ।” मन्त्री चौधरीले परियोजना कार्यान्वयनको लागि एडिबिका नेपाल निर्दशक (कन्ट्रि डाईरेक्टर)सँगको छलफलपछि बजेट सुनिश्चित भएर काम अघि बढाइएको जानकारी दिँदै बजेटको अभाव नहुने बताउनुभयो । –राप्ती कोरिडोरको शिलान्यास गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीसोही कोरिडोरमा पर्नेे सिहिनियाँमा ८७ विगाहा रहेको जानकारी दिँदै उक्त स्थनमा विमानस्थल बनाउन सकिने बताउनुयो । देशका ठूला कोरिडोर मध्ये धोबी खोला कोरिडोर र बागमती कोरिडोरपछि राप्ती कोरिडोर भएकाले पनि यस परियोजनालाई दाङ्बासीको सपना भएको बताउनुभयो ।लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ । जसको विस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर बन्न लागेको हो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले राप्ती कोरिडोर नदी नियन्त्रण, जग्गा संरक्षण, सडक सुविधा र नयाँ शहरको सोचका साथ आएको बताउनुभयो । उहाँले देउखुरीको भालुवाङ, गढवा र राजपुर गरी तीन स्थानमा नयाँ शहरको परिकल्पनासहित करिडोरको योजना अघि सारिएको जानकारी दिनुभयो । उक्त सडकको चौडाई २१ मिटरको फराकिलो हुनेछ भने ठूला नदीमा ढल नमिसाउने गरी ६७.५० किलोमिटर उत्तरी क्षेत्र र ६८.३० किलोमिटर दक्षिणी क्षेत्रसहित कुल १३५ किलोमिटर लामो ढल बन्नेछ । राप्ती क्षेत्रमा करिडोर बन्ने भएपछि स्थानीयबासी पनि हर्षित छन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताउनुभयो ।
नेकपा (एमाले)का सांसद विशाल भट्टराईले विधेयश फिर्ता गर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक अधिकार रहेको प्रष्ट पार्नुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक समेत रहनुभएको भट्टराईले नागरिकता विधेयक र अध्यादेशसँग जोडेर राष्ट्रपतिलाई विवादित बनाउन खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
तिलाचन पाण्डेतम्घास, साउन ३१ गते । निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेको पाइएको छ ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेद्वारमध्ये ५५८ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ६८५ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।निर्वाचन आयोगले उम्मेद्वारहरुका लागि खर्चको सीमा निर्धारण गरेअनुसार नगरपालिका प्रमुख तथा उपप्रमुखहरुले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजारसम्म, वडाध्यक्षले दुुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । यता निर्वाचन कार्यालय गुल्मीका प्रमुख माया कुँवरले निर्वाचन आयोगले असार मसान्तसम्म सबैको विवरण अनलाइनमा राख्न निर्देशन दिएको र सोही अनुसारको विवरण आयोगमा पठाएको दाबी गर्नुभयो ।निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई पाँच लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने प्रवाधान छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी रहेको छ । बैठक मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको हो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईपछि वामदेव गौतमबीच संयुक्तरुपमा चुनाव लड्ने स्वीकृत गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले मंगलबार बिहान पेरिसडाँडामा बसेको बैठकमा माओवादीले डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिनुभयो ।
चित्र मिजारसिन्धुपाल्चोक, साउन ३१ गते । बलेफी गाउँपालिका –४ का तीन गाउँका सबै घरमा खानेपानी धारा निमार्ण भएको छ । उक्त धाराको बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले उद्धघाटन गर्नुभएको छ ।बलेफी गापा –४ को केउरिनी, ढाँडे र वडा नम्बर ६ को आचार्य टोलका घरमा धारा निर्माण गरिएको छ । गैरसरकारी संस्था आइस्याप (आइएसएपी) को संयोजन र जापानी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था पिस विन्ड्सको लगानीमा धारा निर्माण भएको हो । कुल १८ लाख ७९ हजार रुपियाँमा धारा निर्माण भएको छ । दुई वटा वितरण कक्ष बनाई मिटर जडित धारामार्फत् १५ घरधुरीले पिउने पानी पाएका छन् । उक्त संस्थाले मेलम्ची नगरपालिकाका तीन सय घरधुरी, सुनकोशी गाउँपालिकामा दुई सय घरधुरी र बलेफी गाउँपालिकाका २५६ घरधुरीले पानी पाएका छन् । पालिकाले गर्न नसकेको धारा निर्माण आइस्यपले गरिदिएकोमा पालिका अध्यक्ष तामाङले सहयोगी संस्थाहरुलाई आभार व्यक्त गर्नुभएको छ ।
रुकुम पश्चिममा स्काईभेटर (डोजर) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धीरेन्द्रप्रसाद साहजनकपुर, साउन ३१ गते । मधेश प्रदेशमा मंगलबार प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ। प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कार्यक्रमको उदघाटन गर्नुभएको हाे।कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, केन्द्रीय अपराध अनुसन्धानका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलगायत प्रदेशका आठ वटा जिल्लाका प्रहरी उपरीक्षक, अनुसन्धान अपराध फाँटका अधिकारीको सहभागी रहेको छ।