• ६ साउन २०८१, आइतबार

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेश

blog

तस्बिर : प्रतिनिधिसभा बैठक

काठमाडौं, साउन ३१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभा बैठक पेश भएको छ ।  मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर सुनाउनुभएको हो ।

पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुन वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ ।

राष्ट्रपतिले पठाउनुभएको सन्देशमा भनिएको छ, ‘‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भई सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदैछ ।

प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार हुन वाञ्छनीय भएकोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्णय भएकोले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध छ ।’’

राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक संसद्लाई फिर्ता पठाउनुभएको थियो ।