• १५ वैशाख २०८१, शनिबार

कर्णाली पुलमा आगलागी

सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न

blog

आगलागीबाट क्षतिग्रस्त एसियाको नमुना कर्णाली पुलको परीक्षण गर्दै सडक विभाग नेपालगन्ज र पुल महाशाखा काठमाडौँको विज्ञ टोली । तस्बिर : रासस

काठमाडौँ, चैत २ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीको घटनाले पुललगायतका संवेदनशील सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । यस घटनाले सडक संरचनाको सुरक्षाका लागि कानुनी तथा संरचनागत व्यवस्थाको आवश्यकतासमेत औँल्याएको छ ।

अहिलेसम्म आगलागीबाट हुने सम्भावित क्षति रोक्न र सडक संरचनाको सुरक्षाका लागि सडक विभाग वा प्रहरीबाट कुनै विशेष योजना र यन्त्र उपकरण जडान वा दमकलको तैनाथी गरिएको देखिएको छैन । जसको अभावमा गत फागुन २८ गते साँझ लाइटर बोकेको ट्रकमा आगलागी हुँदा पुलमा क्षति पुगेको थियो ।

वीरगन्जबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासि आगलागी भएको थियो । आगलागीले कर्णाली पुलको दुवैतर्फका १४ वटा केबल जलेका थिए । 

सुदूरपश्चिमको जीवन मार्गका रूपमा रहेको सो पुलमा आगलागीको घटनापछि आवागमन बन्द गरिएको छ । प्राविधिकहरूले क्षतिको अध्ययन गरिहेका छन् । आगोबाट पुलमा पुगेको क्षतिबारे स्थलगत अनुगमन गरी प्राविधिक टोली बिहीबार काठमाडौँ फर्केको बताउँदै प्रमुख खनालले क्षतिबारे प्रतिवेदन अर्को साता आउने जानकारी दिनुभयो । आगलागीको घटनापछि पुलमा आवागमन पूर्ण रूपमा निषेध गरिएको छ ।

अध्ययन प्रतिवेदनपछि  पुलमा पुगेको क्षतिबारे यकिन भएपछि मात्र पुलमा के कस्तो मर्मत सम्भार गर्ने, पुल कहिलेदेखि सञ्चालनमा ल्याइनेलगायतका विषयमा स्पष्ट हुने उहाँले बताउनुभयो । सो घटना भएको दिनदेखि नै सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडी हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् । 

उक्त घटनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, पुल महाशाखा, सडक ट्राफिक व्यवस्थापनको जिम्मा पाएका नेपाल प्रहरीलगायतका निकायलाई त्यस्तो घटना दोहोरिन नदिन सचेत बनाउनुका साथै सडक सुरक्षासम्बन्धी नयाँ नीति निर्माण गर्न सुझाएको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कर्णाली पुलमा आगो लागेको ट्रकमा वा पुलको संरचनामा कतै पनि आगो निभाउने संयन्त्र भइदिएको भए चालक वा सुरक्षाकर्मी जोसुकैले सजिलै आगो निभाउन सक्थे । सडक विभागले भने त्यस्तो अग्नि समग्र उपकरण ट्रकमा नै हुनुपर्ने दाबी गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख ललिजन खनालले प्रहरीको लापरबाहीका कारण पनि सो दुर्घटना भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडकमा गुड्ने सवारी साधन व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरीले एलपी ग्यास, ग्यास लाइटर, डिजेल, पेट्रोललगायतका अति प्रज्वलनशील पदार्थ बोक्ने सवारी साधनले आगो निभाउने ‘फायर एक्स्टिनगुइसर’ यन्त्र अनिवार्य रूपले बोक्नुपर्ने व्यवस्था गर्नुपर्नेमा त्यस्तो गरेको पाइएको छैन । यस विषयलाई लागु गराउने तथा त्यसको अनुगमन ट्राफिक प्रहरीले गर्नुपर्ने हो ।”

अन्य मुलुकहरूमा प्रज्वलनशील पदार्थ बोक्ने सवारी साधनले अनिवार्य रूपमा आगो निभाउने यन्त्र हुनुपर्ने व्यवस्था हुन्छ भन्दै पुल महाशाखा प्रमुख खनालले यदि कर्णाली पुलमा आगो लागेको ट्रकमा ‘फायर एक्स्टिनगुइसर’ भएको भए त्यो घटना हुँदैनथ्यो होला । उहाँले कर्णाली पुलको घटनाबाट पाठ सिक्दै ट्राफिक प्रहरीले प्रज्वलनशील पदार्थ बोक्ने सवारी साधनले अनिवार्य रूपमा आगो निभाउने यन्त्रहरू बोक्नुपर्ने प्रावधान लागु गराउनुपर्ने बताउनुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले प्रज्वलनशील पदार्थ बोक्ने सवारी साधनले अनिवार्य रूपमा आगो निभाउने यन्त्र हुनुपर्ने प्रावधान लागु    गराउनुपर्ने सुझाव राम्रो रहेको बताउँदै यसका लागि सम्बन्धित निकायहरूले पहल गर्नुपर्ने बताउनुभयो ।

सडक विभाग वा यायतायात व्यवस्था विभागले समेत सडक संरचनाको सुरक्षाका लागि पहल गरेको देखिँदैन । निर्माणको दृष्टिकोणले कर्णाली जस्तो संवेदनशील पुलको सुरक्षाका लागि यी निकायले आगो नियन्त्रक यन्त्र वा दमकलको व्यवस्था गरेको देखिएको छैन ।

पुल महाशाखा प्रमुख खनालले कर्णालीको पुलको घटनाबाट पाठ सिक्दै देशभर रहेका पुललगायतका सडक संरचनाको सुरक्षाका लागि सबै ठाउँमा दमकल वा आगो नियन्त्रक यन्त्र जडान गर्न तत्काल सम्भव नरहे पनि केही संवेदनशील पुलहरूको सुरक्षाका लागि स्थानीय निकाय र सुरक्षा निकायहरूसँग समन्वयन गरी पहल गरिने बताउनुभयो ।