राजन रावत
हुम्ला, कात्तिक ६ गते । नाम्खा गाउँपालिका–६, लिमीको इलाका प्रहरी चौकी सुनखानीका प्रहरी जिल्लामा फिर्ता हुनुभएको छ । असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि चौकीका प्रहरीहरू चौकी बन्द गरेर जिल्लामा फर्किनु भएको हो ।
दुई दिन लगातार हिमपात भएपछि चिसो निक्कै बढ्दा इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोटमा फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । उक्त इलाका प्रहरी चौकी ६ महिनाका लागि सुनखानीमा बस्ने गथ्र्यो ।
कातिक १५ गते जिल्लामा फिर्ता हुनुपर्ने प्रहरी चौकीका प्रहरी यसवर्ष पन्ध्र दिनअघि नै चिसोको कारण फिर्ता भएको उहाँले बताउनुभयो । २३ जनाको दरबन्दी भए पनि हाल उक्त प्रहरी चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको कमान्डमा चौध जना प्रहरी कार्यरत रहनुभएको थियो ।
प्र.ना.नि.चन्दले बाक्लो हिमपात भएपछि चिसोले काम गर्न नसक्ने भएपछि जिल्लालाई खबर गरिएको र जिल्लाले पनि चौकी छाडेर फिर्ता हुन आदेश दिएपछि इलाका प्रहरी चौकी सुनखानीका प्रहरीहरू सबै फिर्ता भएको बताउनुभयो ।
चौकीको धारामा पानी जम्ने, तापक्रम पनि माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन हुने अवस्था आएपछि चौकी छोड्नै पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । चौकीबाट प्रहरीले असोज २६ गते नै छोड्न चाहेको भए पनि न्यालु लेकमा हिउ जमेको कारण सडक बन्द हुँदा रोकिएको उहाँले बताउनुभयो । चिसोको कारण बन्द गरिएको सुनखानी प्रहरी चौकी आगामी वैशाखमा सञ्चालन हुने बताइएको छ ।