सिराज खान
नेपालगन्ज, कात्तिक ६ गते । धार्मिक र सामाजिक सद्भावको नमुना मानिने नेपालगन्जमा मुस्लिमले हिन्दु समुदायका दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् । यसअघि दसैँमा पनि उनीहरुले हिन्दु समुदायका मान्यजनको हातबाट टीका र जमरा लगाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मुस्लिम युवा अब्दुल वाहीद मन्सुरीले थारु समुदायकी दिदी र बहिनीको घरमा थारु पोशकमै पुगेर उहाँहरुको हातबाट टीका लगाएको बताउनुभयो ।
उहाँले दसैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो ।
नेपालगन्जका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दू धर्मलाई अनुशरण गर्ने दिदी बहीनीको हातबाट टीका लगाएको बताउनुभयो । उहाँले सानै उमेरबाट आफूले हिन्दु मुस्लिमका सबै चाडपर्व रमाएर मनाउने गरेको जनाउनुभयो ।
दुई दशक भन्दा बढी समयदेखि आफूले मुस्लिम भाई सिद्दीकीलाई हरेक वर्ष तिहारमा टीका र रक्षा बन्धनमा राखी लगाउँदै आएको माया थापाले बताउनुभयो ।
नेपालगन्जका कानुन व्यवसायी मुस्लिम युवा रिजवान मिर्जाले आफूले हृदयबाट मानेको हिन्दु धर्मकी दिदीको हातबाट भाइटीका लगाएर तिहार मनाएको बताउनुभयो ।
सोही प्रकारले अब्दुल हुसेन खाँ, शिखर इराकीलगायत अन्य धेरै मुस्लिम युवाले तिहारको टीका लगाएर भाइटीका मनाउनु भएको छ ।