तानसेन समाचारदाता
तानसेन, फागुन २४ गते । पाल्पा जिल्लाभर विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको १० वटै पालिकाका ८१ वटै वडामा विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ ।
हालसम्म जिल्लाभरका ७२ वटा वडामा विद्युतीकरण भइसकेको छ । बाँकी नौ वटा वडामा यो आर्थिक वर्षभित्रै विद्युतीकरण गर्ने लक्ष्य अनुसार काम भइरहेको विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार निस्दीको वडा नं. १, बाकामलाङ, वडा नं. ३, झिरुबास र वडा नं. ७, ज्यामिरेका केही गाउँमा विद्युतीकरण हुन बाँकी छ । माथागढी गाउँपालिका–८, बहादुरपुर, वडा नं. ७, रहबास र वडा नं. ६, गोठादीमा पनि विद्युतीकरणको काम भइरहेको तर सम्पन्न हुन बाँकी रहेको छ । पाल्पा वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीका अनुसार तिनाउ गाउँपालिका–४, कोलडाँडा र वडा नं. १ कचलमा विद्युतीकरण गर्न बाँकी रहेको छ । बाँकी रहेका जिल्लाभरका नौ वटा वडामा यो आवभित्रै विद्युतीकरण गर्ने लक्ष्य अनुसार काम भइरहेको छ ।
प्राधिकरणका पाल्पा वितरण केन्द्रका सूचना अधिकारी भागीरथ बस्यालका अनुसार यो आवभित्रै पाल्पा जिल्लाभरि विद्युतीकरण गर्ने लक्ष्य अनुसार काम भइरहेको छ । प्राधिकरणले विद्युत् अवरोधलाई हटाउन जीर्ण काठको पोल हटाउने अभियान पनि सुरु गरेको छ । पाल्पा जिल्लाका जीर्ण एक हजार दुई सय काठका पोल हटाउने गरी काम भइरहेको केन्द्रका प्रमुख मरासेनीले जानकारी दिनुभयो । जिल्लाभरिका ५० प्रतिशत त्यस्ता जीर्ण काठका पोल हटाएर विद्युत् सेवा नियमति र चुस्त बनाउने पाल्पा वितरण केन्द्रले जनाएको छ ।