• ५ माघ २०८१, शनिबार

आगलागीबाट दुई घर जलेर नष्ट

blog

फाइल तस्विर

जनार्जन खत्री

सर्लाही, फागुन १८ गते । सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका –३, झण्डाटोलमा शुक्रबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । 

स्थानीय रामईश्वर दासको खरले छाएको घरमा लामखुट्टे धपाउन बालिएको आगो सल्किएर उहाँ र छिमेकी रामदेव झाको घर जलेर नष्ट भएको हो । आगलागीबाट दासको घरसहित घरभित्र रहेका केही नगद, कपडा, खाद्यान्नलगायत सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

घरभित्रै रहेका चारवटा बाख्रा, दुईवटा कुखुरा र केही हाँस जलेर मरेका छन् । आगलागीले दासको तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, रामईश्वरकै घरबाट सल्किएको आगोले छिमेकी रामदेव झाको घर तथा घरभित्रका सामग्री जल्दा दुई लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीपछि दुवै विपन्न परिवार बिचल्लीमा छन् । 

शुक्रबार बिहान २ः३० बजेपछि सुरु भएको आगलागी गाउँले र प्रहरीचौकी खैर्बा बहुअर्वाबाट खटिएको प्रहरी टोली मिलेर दुई घण्टापछि नियन्त्रणमा लिएको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । २० पालिका रहेको सर्लाहीमा हरिवन र मलङ्गवा नगरपालिकासँग दमकल रहे पनि अन्य पालिकामा दमकल नरहेकाले आगलागी नियन्त्रणमा समस्या पर्दैआएको छ ।