• १२ साउन २०८१, शनिबार

टिङ्कर सडक निर्माणको प्रगति न्युन

blog

सुस्त गतिमा निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक ।

लोकेन्द्र जोशी

दार्चुला, फागुन १ गते । नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक निर्माणको गति बढ्न सकेको छैन । विगतदेखि नै कछुवा गतिमा निर्माण भइरहेको यो सडक पूरा हुनेमा स्थानीयवासीले शङ्का गर्दै आक्रोश पोख्न थालेका छन् । 

टिङ्कर सडकमा चालु आर्थिक वर्षको छ महिनामा जम्मा ७२० मिटर नयाँ ट्र्याक खोल्ने र ४८० मिटर सडक स्तरोन्नति गर्ने काम भएको छ । व्यास गाउँपालिका–२, तुसारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको क्षेत्रमा सेनाले सडक निर्माण गरिरहेको छ । 

चालु आवमा तीन किलोमिटर नयाँ ट्र्याक निर्माण र दुई किलोमिटर सडकको स्तरोन्नति गर्ने लक्ष्य भए पनि पछिल्लो छ महिनाको निर्माण गति हेर्दा सन्तोषजनक प्रगति देखिँदैन । 

यस सडकमा लक्ष्य अनुसार काम नभएको स्थानीयको गुनासो छ । व्यास–२ मा पर्ने फतङ्गाड, पलटेधार, कोठधार, फुलचिमधार, तल्लो दुम्लिङ, काठा दुम्लिङ, आकतुङ्ती र तम्बाकुलगायत स्थानमा सडक निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ । सरकारले दार्चुला–टिङ्कर सडक निर्माणका लागि चालु आवका लागि १४ करोड १९ लाख २० हजार रुपियाँ बजेट विनियोजन गरेकोमा हालसम्म तीन करोड रुपियाँ बजेट मात्रै खर्च भएको छ । 

कुल ७९ किलोमिटर लामो सडकमध्ये गत वर्ष साढे १० किलोमिटर सडकको ट्र्याक निर्माण र डेढ किलोमिटर सडकको स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । 

गत पुस ५ गते टिङ्कर सडकको स्थलगत अनुगमनमा सुन्सेरा पुगेका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वाला र प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूसहितको टोलीले टिङ्कर सडकमा पर्याप्त बजेट थप्ने प्रतिबद्धतासहित दु्रत गतिमा सडक निर्माण गर्न निर्देशन दिनुभएको थियो ।

तर, सडक निर्माण कार्यलाई गति दिन सैनिक कर्मचारी, कामदार र थप बजेट केही थपिएको छैन । नयाँ वर्षसम्म मालगाउँमा गाडी पु¥याउने लक्ष्य रहेको सेनाले जनाएको छ । सरकारले पर्याप्त बजेट, मेसिन र जनशक्ति परिचालन गर्न नसकेका कारण कार्यप्रगति सन्तोषजनक हुन नसकेको बताइन्छ । कल्जु क्षेत्रमा कम्प्रेसर मेसिन पुर्‍याउन समस्या भएको छ । 

यो छ महिनाको भौतिक प्रगति न्यून देखिए पनि वार्षिक लक्ष्य अनुसार तीन किलोमिटर नयाँ सडक निर्माण र दुई किलोमिटर सडकको स्तरोन्नति पूरा हुने दाबी सेनाको छ । सीमा क्षेत्रका स्थानीय बासिन्दाको माग र आवश्यकता अनुसार टिङ्कर सडक निर्माणले गति लिएको छैन ।

राजनीतिक नेतृत्व र उच्च सरकारी अधिकारीले बजेट अभाव हुन नदिइने बताए पनि यो वर्ष बजेट थपिने सम्भावना देखिँदैन । यो वर्षका लागि विनियोजित १४ करोड बजेट र वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति हुन नसकेपछि थप बजेटको आवश्यकतामाथि नै प्रश्न उठ्ने सम्भावना बढेको छ । व्यास गाउँपालिका–२, दुम्लिङसम्म बजेट र जनशक्ति थपेर चाँडो सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेको वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताउनुभयो । 

दुम्लिङबाट सदरमुकाम खलङ्गा तथा गाउँपालिका र वडाका अन्य बस्तीसम्म आवतजावत गर्न महाकाली नदीमा तुइन तर्नुपर्ने बाध्यता रहेकोले तत्कालै दुम्लिङसम्मको सडक निर्माण गरिनुपर्ने उहाँको भनाइ छ । स्थानीयवासीको माग अनुसार नेपाल सरकारले दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङ्गेपुल निर्माणको प्रस्ताव गरे पनि भारत सरकारले यसमा सहमति दिइसकेको छैन । दुम्लिङमा एक दशकदेखि झोलुङ्गे पुल निर्माणको माग राखे पनि पूरा हुन नसकेको व्यासका स्थानीय दीपक खातीले बताउनुभयो ।