• २१ कात्तिक २०८२, शुक्रबार

जोखिमयुक्त ठाउँमा वडा कार्यालय बनाउने तयारी : स्थानीयद्वारा विरोध

blog

सिमकोट गाउँपालिका–७ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माणका लागि हेरिएको स्थान । तस्बिर : नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), कात्तिक २१ गते । हुम्लाको सिमकोट गाउँपालिका–७ वडा कार्यालय निर्माणमा स्थानीयले विरोध जनाएका छन् । वडा अध्यक्षले गाउँका स्थानीय र वडा सदस्यहरूसँग समन्वय नगरेरै मनोमानी तवरले वडा कार्यालयको भवन निर्माण गर्न खोजेपछि स्थानीयले विरोध जनाएका हुन् ।

विगत लामो समयदेखि सो वडाको वडा कार्यालय सम्पूर्ण स्थानीयका लागि पायक पर्ने स्थान टुलिङ गाउँबाट उक्त सेवा प्रवाह हुँदा हुँदै वडाका जनप्रतिनिधिले आफूखुसी जनताका लागि अपायक पर्ने स्थानमा छुट्याएको बजेटको दुरुपयोग गर्न खोजेपछि गाउँका अधिकांसश नागरिकले विरोध जनाएका छन् ।

यसअघि वडा ७ को टुलिङ गाउँमा गाविस भवन निर्माण गरिएको थियो । उक्त गाविस भवन जीर्ण भएपछि सोही गाउँमा वडाले एउटा कोठा भाडामा लगेर सेवा प्रवाह गर्दै आएको थियो । तर पछिल्लो समय त्यो नभइ वडा कार्यालयलाई सदरमुकाम सिमकोटमा सम्पर्क कार्यालयका रुपमा सञ्चालन गरियो । त्यहाँ हरेक नागरिकको पहुँज समेत पुग्न सकेन । कतिपय व्यक्तिहरू वडाबाट पाउनुपर्ने विभिन्न सिफारिसबाट समेत प्रभावित हुन पुगे । 

सरकारी भवन टुलिङमा हुनुपर्नेमा सोही वडाको चुक्याडी खोलामा नयाँ भवन निर्माण गर्दा वडाका प्रत्येक नागरिकले सास्ती खेप्नु पर्ने हुन्छ स्थानीय कविराज शाहीले गुनासो गर्नुभयो । हाल निर्माण गर्न थालिएको चुक्याडी खोला बाढी पहिरोको उच्च जोखिममा छ । यसअघि पटक पटक बाढी पहिरोले त्रसित गराएपछि चुक्याडीबासीले जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेशसम्म बस्ती विस्तारको माग गर्दै आएका छन् । 

जसले गर्दा सोही ठाउँमा वडा कार्यालयको भवन निर्माण गर्न उपयुक्त नभएको स्थानीय शाहीले बताउनुभयो । हाल वडा कार्यालय निर्माण गर्ने भनिएको स्थान हिमपातका कारण ६ महिना मात्रै बस्ने ठाउँ हो । यहाँका बासिन्दा ६ महिना औल र ६ महिना लेक सर्ने गर्दछन् । हिमपातको असरले हिउँदको महिनामा सो ठाउँमा खपिनसक्नु चिसाे हुन्छ ।

सो गाउँका अन्य नागरिक र वडा सदस्य कसैसँग समन्वय नगरी नयाँ भवन निर्माण गरिनुमा आफ्नो पनि घोर आपत्ति भएको वडा सदस्य हीरा सिंहले बताउनुभयो । कर्णाली प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२-०८३ का लागि उक्त वडा भवन निर्माणमा ७० लाख रुपियाँ छुट्याएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख ईश्वरबहादुर सिंहले बताउनुभयो ।

वडा भवन तत्काल निर्माण नगरेमा बजेट फिर्ता हुने भएकाले भवन निर्माणमा जुटेका हौँ, तर यकिन भई नसकेको वडा अध्यक्ष बलवीर शाहीले बताउनुभयो ।