सिराज खान
नेपालगन्ज, कात्तिक २१ गते । नागरिक उड्डयन प्राधिकरणका महादिर्शेक प्रदीप अधिकारीले नेपालगन्जबाट भारतका केही ठुला सहरहरुमा छिटै हवाई उडान सुरु गरिने बताउनुभएको छ ।
बाँकेको नेपालगन्जस्थित राँझा विमानस्थलमा निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न गरिएको सुविधायुक्त नयाँ टर्मिनल भवनको शुक्रवार अनुगमन निरीक्षण गर्दै उहाँले सो बताउनुभयो।
महादिर्शेनक अधिकारीले अन्तर्राष्ट्रिय उडान गर्ने गरी यो नयाँ टर्मिनल भवन निर्माण गरिएको जनाउँदै अब छिटै उडान शुरु गर्ने प्रक्रिया पनि सुरु गरिने बताउनुभयो । उहाँले यो विमानस्थलमा अहिले उडान भरिरहेका विभिन्न कम्पनीका विमानबाटै भारतको लखनउ, दिल्ली र बनारस लगायतका सहरहरुमा उडान गर्न सकिने भएकोले त्यसको प्रक्रिया सुरु गरिने बताउनुभयो ।
सो सम्बन्धमा यसअघिबाट नै नेपाल र भारत सरकारका बिच छलफल भइरहेको जनाउँदै महानिर्देशक अधिकारीले टर्मिनल भवन निर्माणबाट सो कार्य छिटै सम्भव हुने बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहितको टोलीलाई टर्मिनल भवनको बारेमा निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रमुख रमेश शर्मा र नेपालगन्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी गराउनुभएको थियो ।
अनुगमन टोलीमा नागरिक उड्डयन प्राधिकरणका निर्देशक दीपेन्द्र श्रेष्ठ लगायतको सहभागिता थियो । सो टोलीले ओके गरेपछि मात्र टर्मिनल भवन हस्तान्तरण गरिने निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माले बताउनुभयो ।
भ्याट बाहेक कुल दुई अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपियाँको लागतमा टर्मिनल भवन निर्माण गरिएको हो । २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् २०८२ पुसमा काम सक्ने गरी काम सकारेको थियो । तर यो कम्पनीले दुई महिना अगाडि नै निर्माण कार्य पूरा गरेको हो ।
नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् ।
पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकिङ काउन्टर १४ वटा, भिआइपी रूम तीन वटा, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन चेकजाँचका लागि अलग÷अलग कोठाहरू निर्माण गरिएका छन् ।
भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि अलग÷अलग यात्रु प्रस्थान र आवागमन ढोकाहरू तयार गरिएको छ । पिकआवरमा नवनिर्मित टर्मिनल भवनको यात्रु क्षमता प्रति घण्टा ६२८ छ ।
नयाँ टर्मिनल भवनभित्र बगैंचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ ।
सो नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा छ ।
त्यस्तै, नयाँ टर्मिनल भवनको परिसरमा सवारी साधन पार्किङको छुट्टै ठाउँ पनि निर्माण गरिएको छ । त्यहाँ मोटरसाइकल १५५, इभी गाडी चार्जिङ स्टेसनसहित १० गाडी, फोर ह्विल सानो गाडी १०२, बसहरू पाँच वटा, अटो रिक्सा ३० वटा पार्किङ गर्ने पार्किङस्थल निर्माण गरिएको छ ।