काठमाडौँ, कात्तिक २१ गते । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।
सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, काेलाेराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वासिङ्टन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो ।
संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व सम्हाल्नु भइसकेको छ ।
अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेट्घाट सुखदुःखमा साथ र सहयोग दिँदै आउनुभएको समाजसेवी राजा घलेले राससलाई जानकारी दिनुभएको हो ।
नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उहाँ निर्वाचित हुन सफल हुनुभएको बताइएको छ ।
त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा. दिलीप पन्थी (नर्थ क्यारोलिना) उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम (जर्जिया), सहसचिवमा विमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा (नर्थ क्यारोलिना) निर्वाचित हुनुभएको समाजसेवी घलेले जानकारी दिनुभयो ।
अन्य १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यमा राजेन्द्र न्यौपाने (साउथ क्यारोलिना), सुवास पोखरेल (मेरिल्याण्ड), डा. शङ्कर पराजुली (म्यासाचुसेटस्), होम लम्साल (नर्थ क्यारोलिना), कल्पना भट्टराई (जर्जिया), कुसुम बराल (साउथ क्यारोलिना), गुरुप्रसाद ढुङ्गेल (साउथ क्यारोलिना), रमा पाहारी (फ्लोरिडा), रुबी बराल (जर्जिया), प्रतिभा खडका (भर्जियाना), अभिराज राजवंशी (साउथ क्यारोलिना), निशान्त अर्याल,(जर्जिया), जयनारायण साह (लुजिएना), सङ्गीता मल्ल र पार्वती तिमल्सिना (नर्थ क्यारोलिना) निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयुक्त एवं नासाका पूर्वअध्यक्ष विमल नेपालले जानकारी दिनुभयो ।
नासाको ३४औँ सम्मेलनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गर्नुभएको थियो । रासस