यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) कात्तिक २१ गते । हात्तीको नङ काट्ने परम्परा पहिलेदेखिको हो । प्राविधिक ज्ञान भएर वा नभएर नेपालमा परम्परागत रुपमा हात्तीको नङ काट्ने गरिन्थ्यो । आठ वर्ष अगाडि अमेरिकी चिकित्सकको टोली नेपालमा आएर हात्तीको नङ कसरी काट्ने भनेर नयाँ तरिका सिकाए । अहिले हात्तीको नङ काट्न सहज र फलदायी भएको छ।
“पहिले हात्तीको नङ माथितिरबाट काट्ने गर्थ्याैं, जसले गर्दा लामो समय लाग्ने र अफ्ठ्यारो हुने हात्तीको छाला काटिने डर हुन्थ्यो ।” राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालले भन्नुभयो, “अहिले उहाँहरूले सिकाएपछि हामी पैतालातिरबाट नङ काट्छौँ पैताला पनि मिलाउँछौँ, नङमा भरिएको माटो र फोहोर पनि सफा गर्छौँ । पहिलेभन्दा हात्तीको स्वास्थ्य राम्रो भएको छ।”
“प्रविधि हामीले मात्र सिकेनौं सिकाएका पनि छौँ । अमेरिकी चिकित्सकको टोलीले नेपालीले हात्तीका नङ काट्दै आएको खुर्पा प्रयोग गर्न थालेको छ ।” भेटेनरी डाक्टर रिजालले भन्नुभयो, “उहाँहरूले पहिले चक्कु छुरी लगायतका विशेष हतियारले हात्तीको नङ काट्ने गर्नुहुन्थ्यो अहिले खुर्पा प्रयोग गर्नुहुन्छ । खुर्पा प्रयोग नगर्दासम्म उहाँहरूलाई एक हात्तीको नङ काट्न आठ घण्टा लाग्थ्यो भने अहिले दुई घण्टामा सकिन्छ ।” भेटेनरी डाक्टर रिजालका अनुसार अहिलेसम्म १० वटा खुर्पा अमेरिका लगिसक्नु भएको छ ।
हरेकपटक आउँदा उहाँहरू नेपाली खुर्पा लिएर जानुहुन्छ, उहाँले भन्नुभयो, सुरुमा त उहाँहरूले खुर्पा चलाउन जान्नु हुन्नथ्यो अहिले खुर्पाले नै सबै काम गर्नुहुन्छ ।
अमेरिकी पशु चिकित्सकहरूको संस्था केएसिफले हात्ती स्वास्थ्यको लागि विगत आठ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर शिविर सञ्चालन गर्दै आएको छ । १० जना पशुचिकित्सक, प्राविधिक र विद्यार्थीहरूलाई ल्याएर शिविर सञ्चालन गरिन्छ । जसमा नेपालका समस्या र प्रविधि उनीहरूलाई सिकाइन्छ भने उनीहरूको प्रविधि नेपालीलाई सिकाउने गरिन्छ ।
शिविरमा हात्तीको नङ् काट्ने, टिटानस, रेबिज विरुद्धको खोप लगाइन्छ । जुकाको औषधी, अन्य परिजीवीहरुको औषधी पनि दिने गरिन्छ । हात्तीको पैताला, खुट्टा र शरीर सफा गर्ने घाउ चोटपटक लागेमा उपचार गर्ने गरिन्छ । हात्तीको रगतको नमुना सङ्कलन गरी क्षयरोग लगायत विभिन्न रोग भए नभएको पत्ता लगाइन्छ । हात्तीलाई आवश्यक पर्ने भिटामिन र मिनरल पनि दिइन्छ ।
हात्तीको तौल धेरै हुने र खुट्टामा बढी लोड हुने भएकोले खुट्टाको बढी स्याहार गर्नुपर्दछ । हात्तीको नङ् बढ्दा हात्तीले बाङ्गो टेक्ने, पैतालामा बढी लोड पर्ने, नङमा माटो भरिएर घाउ हुने गर्दछ । भेटेनरी चिकित्सक रिजालले भन्नुभयो –“हात्तीको अरु ठाउँमा घाउ चोटपटक लागेमा छिट्टै घाउ निको हुन्छ र हात्तीको दिनचर्यामा खासै पर्दैन तर खुट्टामा घाउ भएमा हात्तीको दिनचर्या प्रभावित हुन्छ ।” उहाँका अनुसार घरपालुवा हात्तीको ४० प्रतिशत स्वास्थ्य समस्या खुट्टामा देखिने गरेको छ । घरपालुवा हात्ती आफूखुसी हिँड्न नपाउने हुँदा नङ छिटो बढ्ने, माटो भरिने र पैतालामा असर हुने गर्दछ ।
हात्ती स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ ओटा र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरि १४ हात्तीलाई उपचार गरिएको छ । मङ्गलबारदेखि सञ्चालन भएको शिविर बुधबार साँझसम्म सञ्चालन भएको छ । हरेक वर्ष सञ्चालन गरिने शिविर बर्दियामा पाँचौं पटक हो भने चितवनमा आठौँ पटक गरिदैछ । घरपालुवा हात्ती भएका सबै राष्ट्रिय निकुञ्जमा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।
शिविर दुई दिनसम्म चल्ने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । हात्ती जैविक विविधता संरक्षण र पर्यापर्यटनका लागि महत्वपूर्ण भएको हुनाले यिनीहरूको स्वासथ्य उपचार र रेखदेख समय समयमा गर्नुपर्ने बताउनुभयो । हामीले ६ –६ महिनामा हात्तीको नङ काट्ने गर्दछौं । उपचार शिविरमा नङ काट्ने तरिका र उपचार प्रविधिको बारेमा सिकाइ आदानप्रदान भएको उहाँले बताउनुभयो ।
हात्तीको खुट्टा र नङको बारेमा अझै पनि हामीलाई धेरै कुरा थाहा रहेनछ । स्वास्थ्य शिविरबाट धेरै कुरा सिक्न पाएको उहाँले बताउनु भयो । शिविर सञ्चालन भएपछि हात्तीको खुट्टा र हात्तीको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरू बताउँछन् ।