• २० वैशाख २०८१, बिहिबार

व्यस्त सहर, सुस्त व्यवसाय

blog

काठमाडौं, फागुन ४ गते । देशको सङ्घीय राजधानी काठमाडौंको व्यस्त शहर तथा बजारहरुमा नै पछिल्लो समय व्यापार–व्यवसाय भएन भन्ने गुनासो बढेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीका अनुसार मुख्य बजारमा नै व्यापार कम भएका कारण सटरहरु खाली भएको अवस्था छ । भएको लगानी नै नउठ्ने र व्यापार–व्यवसाय पनि नभएपछि व्यवसायी तनावमा पुगेका छन् ।

कार्कीले भन्नुभयो, “सटरहरु खाली छन् किनभने सामान किन्न मान्छे आउँदैनन् । एउटा व्यापारीलाई सटर लिन कम्तीमा डेढ लाखभन्दा बढी खर्च हुन्छ । तर महिनामा डेढ लाखको व्यापार हुँदैन ।”

उहाँले बैङ्कको ब्याजदर बढेका कारण पनि यस क्षेत्रमा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा सात, आठ प्रतिशतको ब्याज १२, १३ प्रतशितभन्दा बढी बनाएको छ । सिंहदरबारमा फाइल बोकेर जान सक्ने, राजनीतिक पहुँच भएकालाई ऋण दिने प्रवृत्ति छ । अर्बपतिलाई ऋण दिँदा साना व्यापारी मर्कामा पर्ने गरेका छन् ।”

महानगरका स्थानीय प्रतिनिधि के भन्छन् ?
महानगरका वडा नं. १० बानेश्वर क्षेत्रका अध्यक्ष रामकुमार केसीका अनुसार अहिले बजारमा व्यापार–व्यवसाय छैन, आर्थिक मन्दी छ भन्ने कुरा बढी मात्रामा उठिरहेको छ ।

केसीले भन्नुभयो, “यहाँ मात्र होइन, जहाँ पनि नेपाल अधिराज्यभरि नै हो । जो पनि पैसा छैन भन्छन् के हो, के हो ! हामीले न्युरोड, महाराजगञ्जका व्यापारीहरुको पनि कुरा सुन्यौं, सबैले त्यही भन्छन् । पछिल्लो समय विवाहको सिजनमा विगतको अनुपातमा ५० प्रतिशत पनि व्यापार व्यवसाय नभएको भन्ने गुनासो सुनिएको छ ।”

उहाँले भन्नुभयो, “करोडौंको सामान राखेर पाँच, दश हजारको व्यापार गरेर के हुन्छ ? भन्छन् ।” नयाँ वर्ष, दसैँ, तिहारलगायतका चाडवाड र सिजनको समयमा समेत व्यापार हुन नसकेको स्थानीय व्यापारी तथा व्यवसायीको गुनासो रहेको उहाँको भनाइ छ । उहाँले यस सम्बन्धमा वडाले व्यापारीहरुसँग समेत बसेर बैठकमा छलफल भएको बताउनुभयो ।

टेकु क्षेत्रका वडा नंं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले व्यापार–व्यवसायका लागि सटरहरु खाली भएको तथा व्यवसाय कम भएको भन्ने सुन्नमा आएको तर यसै विषयले निराशा नै बन्नुपर्ने अवस्था भने नभएको बताउनुभयो ।

महर्जनले भन्नुभयो, “खासै त्यस्तो गुनासो आएको छैन । हुन त, त्यस्तो गुनासो नआएकै राम्रो नि ! आर्थिक मन्दी त सबैले महसुस गरिरहेकै कुरा हो ।”

यसैगरी, कोटेश्वर क्षेत्रका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीले पनि यसखाले समस्या हल्काफुल्का सुनिएको बताउनुभयो ।

बौद्ध क्षेत्र वडा ६ का अध्यक्ष भुवन लामाले सहकारी सम्बन्धमा केही समस्या रहेको तर व्यापार–व्यवसायको हकमा अवस्था सामान्य रहेको बताउनुभयो ।

पछिल्लो समय महानगरमा फुटपाथ तथा अस्तव्यस्त पार्किङ हटाएपछि चहलपहल झनै कम भएको हो भन्ने जिज्ञासामा पार्किङ नहटाइएको ठाउँमा पनि व्यापार–व्यवसाय सन्तोषजनक नरहेको उनीहरुको भनाइ छ ।

कोभिड–१९ महामारी र त्यसयता विश्वव्यापीरुपमा छाएको आर्थिक मन्दीपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएको नकारात्मक आर्थिक सूचकाङ्कको प्रभाव परेको हुनसक्ने अनुमान उनीहरुको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।