• १ मंसिर २०८२, सोमबार

बायोमेट्रिक दिन नपरेपछि कार्यालयमा भीडभाड कम

blog

काठमाडौँ, मङ्सिर १ गते ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि पाँच दिन म्याद थप भएको छ । सो अनुसार आज पनि मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउने क्रम देशभर जारी छ । 

निर्वाचन आयोगको गत असोज ९ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि कात्तिक ३० गतेसम्मका लागि कायम गरेको थियो ।  आयोगका अनुसार कात्तिक २७ गतेसम्म देशभर कुल दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको अवस्थालाई दृष्टिगत गर्दै आयोगको २८ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको हो । यससँगै राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले निर्वाचन आयोगको वेबसाइटबाट आवेदन गर्न सक्ने र निर्वाचन कार्यालयमा गई जैविक विवरण दिन नपर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । 
उहाँले भन्नुभयो, “निर्वाचन आयोगमा असोज २८ गते निर्णय भयो र पाँच दिन म्याद थप भएको छ । उमेर पुगेका समूहले मतदाता नामावलीमा नाम दर्ताका लागि फाराम भर्न पाउँछन् ।”

काठमाडौँमा २९ हजार 

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार आइतबारसम्म मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको सङ्ख्या २९ हजारभन्दा बढी छ । राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन फाराम भर्दा जिल्ला निर्वाचन कार्यालयमा बायोमेट्रिक दिन नपरेपछि कार्यालयमा भौतिकरुपमा उपस्थित भई दर्ता गराउनेको सङ्ख्या कम हुँदै गएको उहाँको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट कसरी नाम दर्ता गराउन  सकिन्छ भन्ने जिज्ञासामा भट्टराईले भन्नुभयो, “निर्वाचन आयोगको वेबसाइटमा जाने, त्यहाँ मतदाता नामावली प्रि–रजिष्ट्रेसन र अद्यावधिक भन्ने छ । त्यसपछि नयाँ दर्ता भन्नेमा जाने । त्यहाँ गएपछि दुईटा अप्सन छ, राष्ट्रिय परिचयपत्र भएको र नभएको । राष्ट्रिय परिचयपत्र भएकोले सबै विवरण भर्ने, त्यसपछि दर्ता सफल भएको मेसेज आउँछ ।”

तत्पश्चात् आयोगले कोड नम्बर पठाउने र पछि प्रमाणीकरण हुने उहाँको भनाइ छ । निर्वाचन आयोगको कार्यालयले प्रमाणीकरण गरेपछि मेसेज वा ईमेलमा अर्को कोड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

उहाँले स्वदेशमा रहेकाका लागि मेसेज र विदेशमा रहेका नागरिकका लागि ईमेलको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

ललितपुरमा  १६ हजार ३१० 

जिल्ला निर्वाचन कार्यालय, ललितपुरका प्रमुख गोमा धमला घिमिरेका अनुसार आइतबार साँझसम्म मतदाता नामावलीमा दर्ता गराउनेको सङ्ख्या १६ हजार ३१० छ ।

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन फाराम भरेर बायोमेट्रिकका लागि निर्वाचन कार्यालय आउन नपरेपछि कार्यालयमा भीडभाड कम हुँदै गएको उहाँ बताउनुहुन्छ ।

भक्तपुरमा १३ हजार २८०  

जिल्ला निर्वाचन कार्यालय, भक्तपुरका प्रमुख प्रकाश मगरका अनुसार आइतबार साँझसम्म १३ हजार २८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उहाँले भक्तपुरमा दैनिक न्यूनतम छ सयदेखि अधिकतम १२ सय जना मतदाता नामावलीमा नाम दर्ताका लागि भौतिक रुपमा उपस्थित हुने गरेको जानकारी दिनुभयो । 

उहाँले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन फाराम भरेपछि निर्वाचन कार्यालयमा बायोमेट्रिक दिन भौतिकरुपमा उपस्थित हुन नपरे पनि नाम दर्ता गराउने व्यक्ति विभिन्न गुनासो लिएर आउने गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि निर्वाचन आयोगको नयाँ दर्ताको प्रक्रियामा गएर विवरण भरेपछि बायोमेट्रिकको लागि निर्वाचन कार्यालय आउनुपर्दैन । तर, त्यहाँ फाराम भरिसकेपछि पनि उहाँहरु कन्फर्मेसन भए, नभएको दुविधा भएकोले जानकारी लिइराख्नुभएको छ ।”

उपत्यकाका निर्वाचन कार्यालयका प्रमुखहरुका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा युवाहरुको उत्साहजनक सहभागिता देखिएको बताएका छन् । स्थायी बसोबास उपत्यकाबाहिर रहेका नागरिकले पनि उपत्यकामा उपलब्ध जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराएको उनीहरुको भनाइ छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।