काठमाडौँ, कात्तिक २ गते । तिहारमा झिलिमिली र उज्यालो बनाउन विगतदेखि नै पाला प्रयोग हुँदै आएको छ । त्यसो त आधुनिक विद्युतीय बत्तीको प्रयोग पनि बढ्दै गएको छ तर, परम्परागत एवम् धार्मिक महत्त्व रहेको पालाको प्रयोग पनि उत्तिकै छ ।
भक्तपुर नगरपालिका वडा नं. ४ तालाक्व टोल (कुमाले टोल) का स्थानीय श्याम सुन्दर प्रजापतिले भन्नुभयो, “लक्ष्मी खुसी हुन्छ भन्ने मान्यताले नपाकेको पालाको माग आउने गरेको छ । हाम्रो भक्तपुरमा काँचो, नपाकेको पाला र सुकेको पाला दुवै थरीको पाला बिक्री हुन्छ ।”
पाला व्यवसायमा प्रजापति समुदाय
उहाँले परम्परागत एवम् पुर्ख्याैली पेसाका रूपमा प्रजापति समुदायले पाला बनाउने तथा यसको व्यवसाय गर्दै आएको बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष भक्तपुरको कुमाले टोलमा ६ परिवारले माटोका पाला बनाएका छन् । प्रजापतिका अनुसार परिवारका सबै जना मिलिजुली माटोको पाला बनाउँछन् । तिहारमा लागि वैशाखदेखि नै माटोको भाडा बनाउन तयारी सुरु गरिएको हुन्छ ।
उहाँले भन्नुभयो, “हामी प्रजापति समुदायका भयौं, माटोको भाँडा बनाउने । सूर्यविनायक चोकबाट राममन्दिरभन्दा अलि माथि हाम्रो कुमाले टोल छ । यो तिहारको लागि भनेर हामीले वैशाखदेखि नै तयारी गरिरहेका हुन्छौं । एउटा परिवारमा कम्तिमा चार जनाले काम गर्छौं । माटो मुछ्ने, पाला बनाउने, सुकाउने, पोल्ने, रङ्ग लगाउने जनशक्ति चाहिन्छ ।”
दर्जनको २० रुपियाँ
उहाँका अनुसार करिब चारदेखि पाँच महिनाको अवधिमा दुई, चार लाख पाला बनाउने काम हुन्छ । कुमाले टोलमा मात्रै १५ लाख पाला बनाउने तथा बिक्रीवितरण हुने उहाँको भनाइ छ । भक्तपुरकै सूर्यमति, च्यामासिंह क्षेत्रमा १२, १५ परिवार पाला व्यवसायमा छन् । तिहारमा यस क्षेत्रबाट २० लाखभन्दा बढी पाला बिक्रीवितरण हुन्छ ।
भक्तपुरको घरेलु उत्पादन पाला काठमाडौँ उपत्यकासहित बनेपा, नारायणघाट, पोखरा लगायतका क्षेत्रमा बिक्री हुने गर्दछ ।
उहाँका अनुसार दुई लाख पाला उत्पादन र बिक्री गर्नेले चार लाख रुपियाँसम्म आम्दानी गर्न सक्छन् । तिहारमा एउटा पसलबाट २० देखि २५ हजार पालाको अर्डर आउने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पहिला एउटा पालाको एक रुपियाँमा बेच्थ्यौं । अहिले दर्जनको २० रुपियाँमा दिने हो । व्यापारीलाई ढुवानी खर्च, पसलमा राखेको बाल चाहियो त्यो हिसाबले बजारमा दर्जनको ४० पर्न जान्छ ।”
माटोको अभाव हुँदै
पछिल्लो समय पाला व्यवसायका लागि माटोको अभाव हुने गरेको छ । भक्तपुरका अधिकांश खेतहरू बेचिएपछि यो समस्या आएको उहाँ बताउनुहुन्छ । जसकारण, पालाको लागत बढेका कारण यसको मूल्य पनि थोरै बढ्न गएको हो ।
उहाँ भन्नुहुन्छ, “पहिला भक्तपुरमा माटोको खानी नै थियो । सूर्यविनायक नगरपालिका अन्तर्गतको सिपाडोल माटोको खानी नै हो । नगरपालिकाको घोषणासँगै सहर विकास हुँदै आयो, अहिले माटो किन्ने अवस्था आएको छ । पहिला आफ्नै खेतबाट लिन्थ्यो, त्यो खेतहरू बेचिहाल्यौं । पहिला परालमा पोल्थ्यौं, अचेल आधुनिक भट्टीमा पोलिन्छ ।”
मौलिकता बचाउन पाला
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य घरेलु उत्पादनको रूपमा रहँदै आएको पाला व्यवसाय धमाधम विस्थापित हुँदै गएको बताउनुहुन्छ । सर्वत्र आयातित विद्युतीय बत्तीको प्रयोग बढ्दै गएपछि नयाँ पाला व्यवसायी प्रोत्साहित हुन सकेका छैनन् ।
उहाँले भन्नुभयो, “सबैले आयातित बत्ती बाल्न थाले । पाला किनेर, तेल राखेर बत्ती बाल्नुभन्दा विद्युतीय बत्ती एउटा स्वीच थिच्नासाथ बल्ने भयो ।”
उहाँले पहिलाजस्तो राम्रो माटो नपाउने र बजारमा माग पनि कम हुँदै गएका कारण नयाँ पाला व्यवसायी उत्साहित हुन नसकेको धारणा राख्नुभयो । यद्दपि, दसैँ, तिहार जस्ता पर्वको मौलिकता कायम राख्नका लागि पालाको प्रयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पालामा मौलिकता झल्किन्छ तर यो हराउने बेला भइसक्यो । मौलिकता हराउन दिन हुन्न, जगेर्णा गर्नै पर्छ । भक्तपुर, ठिमी क्षेत्रमा सबैभन्दा बढी पाला बन्छ । उनीहरू व्यावसायिक र उद्योगी हिसाबले आएको छैन । सबैजसो घरेलु नै हो ।”