• ३० फागुन २०८२, शनिबार

म्याक्स अस्पतालद्वारा नेपालगन्जमा क्यान्सर उपचारसम्बन्धी शैक्षिक कार्यक्रम

blog

क्यान्सर रोगको उपचारका नयाँ प्रविधिबारे जानकारी गराउँदै म्याक्स अस्पतालका चिकित्सकहरू । तस्बिर: सिराज खान ।

सिराज खान

नेपालगन्ज, फागुन ३० गते ।भारतको लखनउमा रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए)भेरी च्याप्टरको सहकार्यमा नेपालगन्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्न शैक्षिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगन्जमा आयोजना गरिएको ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञले विभिन्न प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा शाश्वत बर्माले ‘पेट–सिटी ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

यस्तै सो अस्पतालका युरोलोजी, किड्नी ट्रान्सप्लान्ट तथा रोबोटिक युरो अन्कोलोजी निर्देशक डा.राहुल यादवले ‘रोबोटिक्स इन युरोलोजी एन्ड युरोअन्कोलोजी आवर एक्सपेरियन्स’ विषयमा प्रस्तूति दिँदै जटिल युरोलोजिकल क्यान्सरका बिरामीमा रोबोटिक सहायताबाट गरिने शल्यक्रियाले उपचारलाई अझ सुरक्षित र प्रभावकारी बनाएको बताउनुभयो ।

यस्तै म्याक्स सुपर स्पेसियालिटी हस्पिटलका प्रिन्सिपल कन्सल्टेन्ट तथा सर्जिकल अन्कोलोजी एवं रोबोटिक सर्जरी विशेषज्ञ डा.शसांक चौधरीले ‘रोल अफ रोबोटिक सर्जरी इन क्यान्सर ट्रिटमेन्ट’ विषयमा बोल्दै न्यून चिरफार (मिनिमली इनभेसिभ) प्रविधिबाट गरिने शल्यक्रियाले बिरामीलाई छिटो निको हुन सहयोग गर्ने बताउनुभयो ।

सोही प्रकारले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अन्कोलोजी विभाग प्रमुख डा. मुकेश यादवले ‘रोल अफ रेडियोथेरापी इन क्यान्सर केयर’ विषयमा प्रस्तुति दिँदै विभिन्न प्रकारका क्यान्सरको उपचारमा आधुनिक विकिरण उपचार (रेडियोथेरापी) को महत्वबारे चर्चा गर्नुभयो ।

यसैबीच म्याक्स सुपर स्पेसियालिटी हस्पिटल लखनउले एउटै छानामुनि समग्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ ।

अस्पतालमा सर्जिकल अन्कोलोजी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी तथा अत्याधुनिक रेडिएसन थेरापी सेवा उपलब्ध रहेको नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जनाइएको थियो ।