• ३० फागुन २०८२, शनिबार

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

blog

जोमसोम विमानस्थलमा शनिबार समिट एयरलाइन्सको ट्विनअटर विमानबाट ओर्लिदै पर्यटक । । तस्बिर सौजन्य : सुमन थकाली

 हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ),फागुन ३० गते । प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ।मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यून हुने भएकाले तीन महिनाका लागि स्थगित गरिएकोमा अनुकुल मौसमसँगै पर्यटकको चहलपहल बढ्न थालेपछी उडान भर्न सुरु गएिएको हो ।

शनिबार समिट एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँबाट दुई र पोखराबाट एक उडान गरेको जोमसोम विमानस्थल प्रमुख दिपक पोख्रेलले बताउनुभयो ।

पोख्रेलले भन्नुभयो,‘‘अचानक मौसममा खराबी नआए अब नियमित हुन्छ, पर्यटकको चहलपहल पनि बढेको छ ।’’शनिबार काठमाडौँबाट २९ जना पर्यटक भित्रिएकोमा २८ जना विदेशी र एक जना नेपाली रहेका छन् । 

त्यसैगरी पोखराबाट १५ जना पर्यटकमा छ जना भारतीय रहेको समिट एयरलाइन्सका जोमसोम प्रमुख सुमन थकालीले बताउनुभयो ।पर्यटकको सिजन सुरु भएकाले पोखरा र जोमसोमबाट हवाई मार्गबाट जाने पर्यटकको चाप भएपनि प्रतिकुल मौसममा बाहेक नियमित उडान हुने गरेको थकालीको भनाइ छ ।

 हवाई मार्ग अवरुद्ध हुदाँ पर्यटक तथा यात्रु बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने गरेका छन् ।मुस्ताङमा निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एयरलाइन्सले उडान भर्दै आइरहेको छ । 

मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले सडक र हवाई मार्गबाट भित्रिने पर्यटकले पर्यटन व्यवसायी समेत उत्साहित हुने बताउनुभयो ।

 मुस्ताङमा मनसुन र जाडो समयमा हवाई उडान प्रभावित हुने गरेको छ । अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकुल जस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एयरलाइन्सले बढीमा पाँचपाँच वटा मात्रै उडान भर्दै आएका छन् ।

 मुस्ताङका धार्मिकस्थल मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने पर्यटक बोकेको हेलिकप्टरमा अनिवार्य एक सुरक्षा निकायका प्रतिनिधि हुने व्यवस्था छ ।

नीजि कम्पनी बाहेक नेपाली सेनाले आफ्नो सामान ढुवानी सहित चार्टर उडान समेत गर्ने गरेको छ। कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक सहज भएपछि हवाई यात्रुको चाप भने घटेको छ ।