जयकृष्ण यादव ।
इनरुवा, फागुन ३० गते ।सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावनी चोकमा शिव महिमा मेडिकल हलमा प्रतिबन्धित लागु औषध बिक्री वितरण गर्ने सञ्चालक मोनिका चौधरीलाई पक्राउ गरेको हो ।
औरावनीमा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ की ३२ वर्षीया मोनिका चौधरीले सञ्चालन गरेको शिव महिमा मेडिकल हलमा प्रतिबन्धित लागु औषध बिक्री वितरण भइरहेको विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरको संयुक्त प्रहरी टोलीले लागु औषध सहित चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीको मेडिकल हल चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ट्रामाडोल–११० क्याप्सुल र स्पास्पेन दुई हजार ८२० ट्याब्लेट फेला परेको थियो ।
लागु औषध सहित सञ्चालक मोनिका चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।