• २ मंसिर २०८२, मङ्गलबार

एन्फा प्रेसिडेन्ट लिग : १० लाखसहित लाली गुराँसलाई उपाधि

blog

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधिसहित खुशी बनाउँदै कास्कीको लालीगुराँस एसोसिएसन क्लब ।

राममणि दाहाल

मकवानपुर, मङ्सिर २ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हेटौँडामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधि कास्कीको लालीगुराँस एसोसिएसन क्लबले जितेको छ । 

हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा मङ्गलबार उपाधिका लागि भएको फाइनल खेलमा काठमाडौंको चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटका आधारमा लालीगुराँस एसोसिएसनले जित निकालेको हो ।

प्रतिस्पर्धापूर्णमा खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरका धकेलिएको थियो । लालीगुराँस एसोसिएसनले चित्लाङ एफसीलाई ३–१ गोलले जित निकालेका हो ।

फाइनलमा विजेता टिम लालीगुराँस एसोसिएसनले १० लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको चित्लाङ एफसीले पाँच लाख रुपियाँ पुरस्कारमा चित्त बुझाउनु परेको छ  ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिम, खेलाडीलाई बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले शिल्ड तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसअघि लिगचरणको खेलमा पनि लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो । 

लालीगुराँस यस लिगको एकमात्र अपराजित टोली हो ।