काठमाडौँ, मंसिर, २ गते । काठमाडाैंकाे सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या सन्तोषजनक रहँदै आएको क्याम्पसले जनाएको छ। धेरै सरकारी क्याम्पसमा भर्ना घट्ने अवस्थाबीच सरस्वती क्याम्पसले भने स्थिर विद्यार्थी आकर्षण कायम राख्न सफल रहेको क्याम्पस प्रमुख डा. ठाकुरप्रसाद वाग्लेले जानकारी दिनुभयो।
उहाँले क्याम्पसका समस्या र समाधानका उपायबारे आफू पूर्ण जानकारीमा रहेको उल्लेख गर्दै विश्वविद्यालयमा प्रस्तुत गरेको कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्याम्पस प्रमुख वाग्लेले हाल क्याम्पसमा १४ शैक्षिक कार्यक्रम सञ्चालनमा छन् भने विद्यार्थी सङ्ख्या करिब नौ हजार पुगेको बताउनुभयो।
एक महिना अघि क्याम्पस प्रमुखमा नियुक्त भएका उहाँले बीए एलएलबी, एमपिएसको रात्री कक्षा लगायत नयाँ शैक्षिक कार्यक्रम थप्ने तयारी अघि बढाइरहेको बताउनुभयो।
मानविकी संकायअन्तर्गत पत्रकारिता, समाजशास्त्र जस्ता विषय तथा व्यवस्थापनतर्फ बिबिए, बिबिएम, बिएचएम कार्यक्रम क्याम्पसमा विशेष लोकप्रिय रहेका छन्। क्याम्पस प्रमुख वाग्लेले कार्यकक्षको चिया खर्च कटौती गर्दै मितव्ययिताको अभियान सुरु भएको बताएका छन्।
यहाँ आयोजित क्याम्पसको साधारण सभामा बोल्दै उहाँले विगतमा रहेको पूर्वाग्रहका कारण आफू पनि प्रभावित भएकाले अब कसैमाथि अन्याय वा पूर्वाग्रह हुन नदिने सुनिश्चितता व्यक्त गर्नुभयो। विद्यार्थी संगठनहरूको अनावश्यक गतिविधि न्यूनीकरण गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने र सबै निर्णय विधि, विवेक तथा मूल्य–मान्यताका आधारमा गर्ने आफूले दृढतापूर्वक अघि बढ्ने उहाँको भनाइ थियो।
उहाँले प्राध्यापक तथा विद्यार्थीहरूलाई अध्ययन–अनुसन्धानमा प्रेरित गर्ने कार्यक्रमहरू ल्याइने जानकारी पनि दिनुभयो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी सिनेटर कल्पना लुइटेलले क्याम्पसमा नागरिक बडापत्र राख्नुपर्ने तथा प्राध्यापक–विद्यार्थीका माग सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो।
प्राध्यापक लेखनाथ ढकालले क्याम्पस प्रमुखले मात्रै सुधार सम्भव नभएकाले सबै पक्षले हातेमालो गर्दै क्याम्पसको विकासमा साथ दिनुपर्नेमा जोड दिनुभयो।
प्रा. डा. सञ्जय आचार्यले क्याम्पसको इतिहासमा पहिलोपटक सर्वपक्षीय सहभागितासहित खुला साधारण सभा हुनु प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो।
अङ्ग्रेजी विभागका प्रमुख राजेन्द्र चापागाईंले क्याम्पस सफल हुन क्याम्पस प्रमुख सक्षम हुनु आवश्यक हुने भन्दै सबैले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताउनु भयाे ।
कार्यक्रममा विभिन्न प्राध्यापक संगठनका प्रतिनिधिहरू — नरेन्द्रराज सुवेदी, रुद्रहरी ज्ञवाली, केशवराज अधिकारी, केपी अर्याल, केपी पाण्डे, दमनबहादुर सिंह — ले प्राध्यापकहरूलाई आम्दानीअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने, प्रवेशद्वारमा सोधपुछ कक्ष स्थापना गर्नुपर्ने तथा अनुशासन कडाइका साथ पालना गर्नुपर्ने सुझाव राख्नुभयाे ।
विद्यार्थी तर्फबाट अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेविसंघ लगायतका प्रतिनिधिहरू—लोकमणि जोशी, निश्चल राई, राजेश बगाले, मनिषराज पन्त, रामबहादुर मल्ल, विवेक जोशी—ले पुस्तकालयमा पर्याप्त पुस्तक व्यवस्था, खानेपानी, शौचालय सुधार, सरसफाइ, छात्रवृत्ति विस्तार लगायतका माग प्रस्तुत गर्नुभयाे ।
सहायक क्याम्पस प्रमुख जमुना श्रेष्ठले सबैको सहकार्यबाट क्याम्पसमा व्यापक सुधार सम्भव हुने बताउँदै अर्का सहायक क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले प्रस्तुत सुझावहरूलाई क्याम्पस नेतृत्वले आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।