• २३ कात्तिक २०८२, आइतबार

जेनजी भन्छन्, ‘परिवर्तनका लागि निर्वाचन’

blog

काठमाडौँ, कात्तिक २३ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जेनजी पुस्ता उत्साहित देखिन्छन् ।जेनजी प्रतिनिधि हिक्मत तिमल्सिना यसअघि जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनमतको सदुपयोग गर्न नसकेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “जनताले पठाएका जनप्रतिनिधिले जनताको मतको सदुपयोग गर्न सकेनन् । त्यो मतको दुरुपयोग गरेपछि भदौ २३ र २४ गते आयो । फागुन २१ गते निकै छोटो समय छ ।” परिवर्तनका लागि निर्वाचन अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

अर्का जेनजी माजिद अन्सारी निर्वाचनको सवालमा उत्साहित हुनुहुन्छ । 

अन्सारी भन्नुहुन्छ, “पहिले राजनीतिक दलको बुझाइमा युवाको जुन एजेण्डा थियो त्यो युवाले मानेर भोट गरिदिनुपर्ने बाध्यता थियो । यसपालि राजनीतिक दललाई हाम्रो एजेण्डा के हो भनेर बताउन सक्ने अवस्था छ । हाम्रो एजेण्डा राजनीतिक दलको मेनिफेस्टोमा लेखाउन सक्ने अवस्था छ ।”

उहाँले विगतमा जेनजी पुस्ता भनेको विदेशमा गएर चुप लागेर बस्ने निराश पुस्ताको रुपमा बुझ्ने गरिए पनि अहिले त्यो अवधारणामा परिवर्तन आएको बताउनुभयो । 

हामी स्पष्ट छौं । करिब ७५ जनाभन्दा बढी सहादत प्राप्त गर्नुभएको छ । धेरै घाइते हुनुभएको छ । उपचार पाउनुभएको छैन”, उहाँले भन्नुभयो, “हिजोको मुर्कटाहरुलाई निर्वाचन नभइकन क्रान्तिको भरमा हामीले फाल्यौं । उनीहरुले गोली चलाएको थियो त्यसविरुद्धको आन्दोलनको भरमा फाल्यौं ।”

उहाँले स्वदेश फर्कन चाहने युवालाई उचित लगानीको वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “गैरआवासीय नागरिक देश फर्किदा पर्यटकको रुपमा फर्कनुभएको छ । अब नागरिकको रुपमा फर्किएर यहीँ लगानी गर्ने वातावरण बनाउन निर्वाचनमा सकभर अरु केही नसके पनि पुराना सबै नेता फाल्छौं ।”

विकास रसाइली विचार र परिवर्तनको चाहनाले आफूलाई निर्वाचनमा मतदानका लागि प्रेरित गरेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “विचार र परिवर्तनको चाहना हो । परिवर्तनको चाहना तब पूरा हुन्छ जब, विचारले सही डेलिभरी गर्न सक्छ । विचार भनेको एउटा साधन अर्थात् माध्यम हो जसले परिवर्तनको चाहनालाई पूरा गर्न सकोस् ।”

हेम चौधरी मताधिकार संविधानले सुनिश्चित गरेको अधिकार भएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “संविधानाले सुनिश्चित गरेको अधिकार हो । हाम्रो पुस्ताले भोट दिने मौका पाउनुभएको छ । आफूले चाहेको कुरा आओस् भन्ने नै हो । उहाँहरुको विचारसँगसँगै सामर्थ्य, पृष्ठभूमि दुवै हेरेर मतदान गर्नुपर्‍याे ।”

यसैगरी, अर्णव चौधरीले निर्वाचनमा मतदानका लागि जेनजी पुस्ता उत्साहित रहेको बताउनुभयो । अबको निर्वाचनले धरैभन्दा धेरै युवालाई निर्णायक तहमा उभाउने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, “संसद् भवनसम्म पुग्न सक्नुहुन्न होला । निर्वाचन भएपछि हारजीत आफ्नो ठाउँमा होला । कतिपय समावेशीमार्फत आउनुहुन्छ । अन्य विचारधाराका हुनुहन्छ । हरेक पार्टीमा सङ्घर्ष र विद्रोह गर्दै हुनुहुन्छ । पार्टीमा सकारात्मक डिस्कसन देखिएको छ ।”

जेनजी अगुवाहरुसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।